काठमाण्डौ,१८ साउन । नेपाली बजारमा सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ ।
आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।
कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।