काठमाडौँ, २६ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका दुई जना, बाँके र पर्साका एकएक जना रहेका छन् ।
काठमाडौँ महानगरपालिका मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो । त्यस्तै कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते बिहान निधन भएको जनाइएको छ ।
यस्तै बांके कोहलपुर नगरपालिका २ बस्ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते निधन भएको छ । उनी साउन २३ गते नेपालगन्ज कलेजमा भर्ना भएकी थिइन् ।
त्यसैगरी पर्साको बेदियानी गाउँपालिका १५ बस्ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

