प्यूठान,२ भदौ । जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ ।
च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सवै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो । घरमै उपचार गराइरहेका उनीहरुमध्ये दुई छोराको सोमबार राती उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर विरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उहाँकी श्रीमती ३० वर्षीय लिला घर्ती, र छोरा १७ वर्षीय शशि घर्तीको अस्पतालमा उपचार भइरहेको छ ।
नौवहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले च्याउ खाएकै दिनदेखि झाडापखाला लागेको बुझ्नमा आएको जानकारी दिए । “च्याउ खाएकै साँझबाट विरामी परेका रहेछन्” उनले भने , “बाँकी पोष्टमार्टमबाट थाहा हुन्छ ।”
जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएकै साँझबाट परिवारका सवै सदस्य विरामी परेका थिए । च्याउ खाएपछि उनीहरुलाई पखाला लागेको भएपनि बाहिर खवर नगरेको स्थानीयले बताएका छन् । यो समाचार आजको गोर्खापत्रअनलाईनमा छ ।