adv
Advertise Expired !

खाली भए ईलामका माङसेबुङ्ग र फाकफोकथुम गाउँपालिकाका क्वारेन्टिनहरु

ईलाम । ईलाम जिल्लाका दशवटै स्थानीय तहमा स्थापना गरीएका क्वारेन्टिनहरु खाली हुन थालेको छ । माङसेबुङ्ग र फाकफोकथुम गाउँपालिकाका क्वारेन्टिनहरु खाली भइसकेको छ । बाँकी आठवटा स्थानीय तहमा रहेका क्वारेन्टिनहरु क्रमश खाली हुने क्रममा रहेको छ ।

स्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुसार जिल्लामा रहेका क्वारेन्टिनमा हाल एकसय ६३ जना रहेका छन् । त्यसमा सबैभन्दा बढी माईनगरपालिकाको गरुवा बहुमुखि क्याम्पसको क्वारेन्टिनमा  ५० जना रहेका छन् ।

त्यसैगरी माईजोगमाई गाउँपालिकामा ७ जना, सूर्योदय नगरपालिकामा ३८ जना, देउमाई नगरपालिकामा १३ जना, सन्दकपुर गाउँपालिकामा ४ जना, इलाम नगरपालिकामा १४ जना, चुलाचुली गाउँपालिकामा ११ जना र रोङ गाउँपालिकामा रहेको क्वारेन्टाइनमा २७ जना रहेका छन् । अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र संक्रमण पुष्टि भएकालाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टिनमा बस्नेको सङख्या निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन बिमल बरालले बताए ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण भएपछि बिस्तारै संक्रमण बढ्दै गएपछि देशैभरका स्थानीय तहमा क्वारेन्टिन निर्माण गरीएको थियो । बिशेष गरेर भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिँदै आएको छ । यता इलाम जिल्लामा हालसम्म ३ हजार ८ सय ७९ जनाको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि जिल्लामा पिसिआर परीक्षणलाई तिब्रता दिइएको थियो ।

जिल्लामा स्वाब संकलन गरेर पिसिआर परीक्षण गरेर पठाइएकामध्ये अब ६ सय ६१ जनाको रिपोर्ट आउन बाँकी छ । सशस्त्र प्रहरीको गणमै कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय सहित जिल्लाका स्थानीय तहहरुले नै भिटिएम किट खरीद गरेर स्वाब संकलन कार्यालाई तिब्रता दिएका थियो । कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिकामा ८ सय ५४, सूर्योदय नगरपालिकामा ८ सय ८२ र रोङ गाउँपालिकामा ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ ।

बाँकी स्थानीय तहमा पनि एक सय भन्दा माथि नै पिसिआर परीक्षण भइसकेको छ । परीक्षण गरीएकामध्ये ८२ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका मध्ये ५५ जना उपचार पछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । (नेपाल समाचारपत्रबाट)

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु