adv

गोमनसिंह मगरको हत्या उनकै साथीले गरेको खुलासा

झापा,१९ भदौ । झापाको शिवसताक्षी नगरपालिकाकाका २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बूले गरेको खुलेको छ।

प्रहरीले तीन दिन लगाएर गरेको अनुसन्धानपछि लिम्बू एक्लैले आफ्नै साथीको हत्या गरेको खुलेको हो। उनले प्रहरीसामु हत्या स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ।

हत्या भएकै दिन लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानलाई असहज हुने भन्दै लिम्बूलाई प्रहरीले सार्वजनिक गरेको थिएन।

बिहीबार राति लिम्बूले प्रहरीलाई मगरको हत्या आफैंले गरेको स्वीकार गरेका थिए। उनलाई तीन दिनदेखि प्रहरीले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको थियो।

मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बूले गोमनसिंहको हत्या गरेको जिल्लास्थित एक प्रहरी उच्च अधिकारीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय  झापाका एक अनुसन्धान अधिकृतले बताएअनुसार मगरले नयाँ नम्बरबाट फोन गरेर लिम्बूलाई मंगलबार साँझ भेट्न बोलाएका थिए। साँझ ६ बजे प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको रातो रङको पल्सर मोटरसाइकलमा घरबाट निस्किएका मगरलाई आरोपी लिम्बूले झिलझिले बजारमा भेटेको अनुसन्धानबाट खुलेको छ।

त्यहाँबाट उनकै मोटरसाइकलमा चढेर एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलतिर गएको लिम्बूले प्रहरीलाई बताएका छन्। ‘त्यही क्रममा छुराले घाँटी रेटेर हत्या गरेको लिम्बूले स्वीकारेका छन्,’ ती अधिकृतले भने, ‘बयानका आधारमा गरिएको अनुसन्धानका क्रममा मृतक र लिम्बूले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्याँकेको अवस्थामा शुक्रबार दिउँसो भेटिएको हो।’

प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए। आरोपी लिम्बू पनि बहराइनबाट फर्किएका व्यक्ति हुन्। दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो। यद्यपि, प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ।

बरामद मोबाइल र लिम्बूले प्रयोग गरेको हतियार फालेको स्थानबाटै छुरा फेला परेको आधारसहितका अन्य गतिला प्रमाणले घटनामा लिम्बूको संलग्नता पुष्टि भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले भने हत्यामा अन्य कारण पनि हुनसक्ने बताउँदै अनुसन्धान जारी रहेको उल्लेख गरे। ‘यो विषयमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन राखेका छौं,’ उनले भने। प्रारम्भिक अनुसन्धानमा अपराधमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले पुष्टि नगरेको स्रोतले बताएको छ। सेतोपाटीबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु