मेचीनगर , ४ असोज । झापाको मेचीनगर र दमक नगरपालिकाबीच पारश्पारिक सहयोग र सहकार्यका लागि अनुभव आदान प्रदान भएको छ ।
आइतबार मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीसहित दमक नगरपालिका पुगेको प्रतिनिधि मण्डल र दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली तथा उपप्रमुख गीता अधिकारीबीच झण्डै दुई घण्टा लामो छलफल भएको हो ।
छलफलका क्रममा दमक नगरपालिकाका प्रमुख ओलीले दमक नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम, सातौ नगर सभाका निर्णय, विनियोजन ऐन, नगरबाट विनियोजित बजेट तथा कार्यक्रमहरु, संघीय सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरु, वडागत बजेट तथा कार्यक्रमलगायत विविध विषयमा जानकारी गराएका थिए ।
जनप्रतिनिधि र कर्मचारीबीचको समबन्ध समधुर हुनुपर्ने जस्ले गर्दा कार्यालयको दैनिक कार्यसम्पादनमा समेत सहज हुने र सेवाग्राहीले समयमै सेवा लिन सक्ने धारणा राखे । बेला बेला कर्मचारीहरुलाई समेत ‘ओरियन्टेसन ’गर्नुपर्ने र कर्मचारीले विधि प्रक्रिया मिलाएर काम सहयोग गर्नुपर्ने बताए ।
कार्यालयको दैनिक काम चुस्त, दुरुस्त र पारदर्शीरुपमा सञ्चालन गर्नका लागि समयको व्यवस्थापन अनिवार्य भएकाले हरेक कुराको योजना बनाएर अघि बढे काम गर्न सहज हुने विचार राखे । मेचीनगरको टोलीलाई नगरप्रमुख ओलीले आफ्ना अधिकारक्षेत्रभित्रका १÷१ वटा बाहेक सवै ऐन कानुन बनाएको, भविष्यमा सजिलो होस भनेर नगरभित्रका धेरै योजनाहरुको डीपीआर तयार गरी राखेको, विभिन्न कार्यगत समिति बनाएर जिम्मेवारी बाडफाड गरेको, हरेक वडामा १० लाख रुपैयाँभन्दा कमका योजना नपर्ने, कुल बजेटको ३५ प्रतिशत आर्थिक, सामाजिक साँस्कृतिकमा र ६५ प्रतिशत बजेट विकास निर्माणका काममा खर्च गर्ने नगरपालिको नीति रहेको जानकारी गराए ।
उनले नगरस्तरीय योजनामा कम्तिमा ३ करोड रुपैयाँभन्दा माथिका मात्र नगरपालिकाले हेर्ने समेत बताए । विधिमा चल्ने हो भने कुनै पनि काम गर्न गाहे नहुने भन्दै प्रमुख ओलीले दमक नगरपालिका अहिलेसम्म विधि प्रक्रियाबाट मात्र सञ्चालन भएकाले कुनै समस्या नभएको बताए ।

उपप्रमुख गीता अधिकारीले नगरभित्र अहिले नयाँ विद्यालय स्थापनाका लागि रोक लगाएको बताईन् । नगरभित्र मन्टेश्वरी विद्यालय धमाधम खुल्न थालेपछि भविष्यमा यसले पार्ने असरका बारेमा बुझेर नै नगरभित्र अहिले नयाँ विद्यालय स्थापनाका लागि रोक लगाएको उनको भनाई थियो । उनले न्यायिक समितिका पदाधिकारीको आचार संहितालगायत शिक्षा, स्वास्थ्य, अनुगमनलगायतका बारेमा समेत मेचीनगरको प्रतिनिधि मण्डललाई जानकारी गराइन् ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले २०७२ सालमा जारी नेपालको संविधान बमोजिम स्थानीय तहको निर्वाचनबाट मेचीनगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पद बहाल गरीसकेपछि ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्घिको मूल आधार’ भन्ने नगर दुर दृष्टि कार्यान्वयन गर्न लागेको जानकारी गराइन् ।
उनले नगरवासीको आर्थिक विकास सुशासन र समृद्घिको चाहानालाई परिपूर्ति गर्न, जनसहभागिता, उत्तरदायित्व, पारदर्शितालाई सुनिश्चित गदैं मेचीनगरलाई व्यवस्थित, समृद्घ र सबल नगर बनाउन विभिन्न नीति र कार्यक्रम अघि सारेको बताईन् । उपप्रमुख उप्रेतीले नगरपालिकाको विधेयक समित मार्फत कार्यपालिका, नगरसभाबाट पारित भएका निर्देशिका, कार्यविधिनियमावली तथा ऐनहरुका बारेमा जानकारी गराइन ।
न्यायिक समितिका संयोजक समेत रहनुभएका उपप्रमुख उप्रेतीले न्यायिक समितिले हाल सम्म गरेका कार्य यसले पारेको सकरात्मक प्रभावका बारेमा समेत जानकारी गराउदैं वडास्तरीय मेलमिलाप समितिका बारेमा समेत जानकारी गराईन्। उनले मेचीनगरका १५ वटै वडामा वडास्तरीय मेलमिलाप समिति निर्माण गठन गरिएको, कानुन अधिकृत र कानुनी सल्लाहकार नियुक्तीका बारेमा समेत जानकारी गराइन् ।
मेचीनगर नगरपालिकाको टोलीमा सहभागी पूर्वाधार विकास समितिका संयोजक एवम् नगरकार्यपालिका सदस्य कृष्ण कनाल, सामाजिक विकास समितिका संयोजक एवम् वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले आ आफ्ना विषयगत समितिका बारेमा जिज्ञासा राखेको टोलीमा सहभागी मेचीनगर नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

