झापा । मंगलबार झापामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये एक जना महिला रहेकी छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुरका ८ जना रहेका छन् । जसमा तीन जना जिल्ला बाहिरका हुन् । ३० देखि ५५ उमेर समूहका ती व्यक्तिमध्ये २ जना खोटाङ र एक जना संखुवासभाका हुन् भने बाँकी सबै स्थानीय छन् ।
भद्रपुरका संक्रमितमध्ये कृषि विकास बैंकका प्रबन्धकसहति चार जना छन् । त्यस्तै, भद्रपुर छोटी भन्सार कार्यालयका कर्मचारी पनि रहेका छन् ।
त्यस्तै, दमक र बिर्तामोडमा ३-३ जना, अर्जुनधारा, बाह्रदशी र बुद्धशान्तिका १-१ जना र हल्दिबारीका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
उनका अनुसार भद्रपुरकी एक महिला र बाह्रदशीका एक पुरुषबाहेक सबै स्थानीय हुन् । ती महिला र बाह्रदशीका पुरुष भारतबाट आएको बताइएको छ ।
यो संक्रमण पुष्टि भएसँगै झापामा संक्रमितको संख्या ९५४ जना पुगेको छ भने ८३९ जना डिस्चार्ज भइसकेका छन् । झापामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० रहेको छ ।

