झापा,२१ असोज । झापामा आज बुधवार २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा १९ जना पुरुष र ५ जना महिला रहेका छन् ।
सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ९ जना रहेका छन् । उनीहरु सबै पुरुष हुन् । उनीहरुको उमेर समूह २ महिनादेखि ४६ वर्षसम्मका छन् । २ महिने शिशुको हिजै मृत्यु भइसकेको छ । शिशुको मृत्यु भएको ६ घण्टापछि रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै, बिर्तामोडमा पनि ९ जना संक्रमित थपिएका छन् । जसमा ३ महिला र ६ जना पुरुष रहेका छन् । उनीहरुको उमेर समूह २३ देखि ५६ वर्षका छन् । वडा नम्बर ३ र ५ का संक्रमित स्थानीय बासिन्दा हुन् ।
यसैगरी, गौरादहमा १ महिला र २ पुरुष, अर्जुनधारामा १ पुरुष, कनकाईमा १ पुरुष र कचनकवलमा एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कचनकवलकी महिला भारतबाट आएकी हुन् भने अन्य संक्रमित सबै स्थानीय रहेका छन् ।
संक्रमित भएकाहरु प्रहरी, कैदी, बैंकका कर्मचारी, अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु रहेका स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
योसँगै झापामा कुल संक्रमितको संख्या ९७८ पुगेको छ भने उपचारपछि निको भएर ८३९ जना घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

