बिर्तामोड । झापाको कमल गाउँपालिका २ थापा गाउँमा गएराति आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ।
कमल गाउँपालिका २ का ध्रुव परियारको घरमा राति आगलागी हुँदा उनकी ७ बर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको हो।
बुवाआमा घर बाहिर रहेको र छोरी रेजुका मात्रै भित्र सुतिरहेको अवस्थामा मैनवत्तीबाट सो आगो लागेको जनाइएको छ। आगो दन्केपछि उनलाई घरबाट निकाल्न नसकेको र घटनास्थलमै मृत्यु भएको हो। आगलागी राति ९ बजेतिर सुरु भएको अनुमान गरिएको छ।
आगलागीबाट परियारको इँटाको गारो र टीनको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगो निभाउने क्रममा ग्यास पड्किएर स्थानीयबासी २२ वर्षिय राम टुडु घाइते भएका थिए। स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

