झापा । झापामा पछिल्लो २४ घण्टाभित्र थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना महिला र २२ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमध्ये दमक नगरपालिका र कमल गाउँपालिकाका ५-५ जना रहेका छन् । दमकमा १ महिला र ४ पुरुष तथा कमलमा ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, अर्जुनधारा नगरपालिकाका २ पुरुष र २ महिला, गौरादहका १ महिला र ३ पुरुष, बिर्तामोड र हल्दिबारीका २-२ पुरुष, भद्रपुर, मेचीनगर, गौरीगञ्ज र शिवसताक्षीका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसै गरी झापामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का ७८ वर्षीय बृद्ध र भद्रपुर ९ का ७२ वर्षीय बृद्ध रहेका छन् । यो सँगै कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

