adv
adv

लिम्बुवानको लागि लड्ने शक्ति नै जसपा : नेता चेम्जोङ


फिदिम, १० पुष ।
“लिम्बुवानको लागि लड्ने कुनै शक्ति छ भने त्यो जनता समाजवादी पार्टी मात्रै हो”, उक्त कुरा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले बताएका हुन् ।

शुक्रबार पाँचथरको फिदिममा आयोजित जनता समाजवादी पार्टीको जिल्ला समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेता चेम्जोङले यस्तो दावी गरेका हुन् ।

पूर्व शान्ति मन्त्री समेत रहिसकेका चेम्जोङले प्रधानमन्त्री केपी ओलीले संविधानमै नरहेको अधिकार प्रयोग गरेर संसद् बिघटन गरेको जिकिर गरे । उनले भने -” खराब नियतका साथ ओलीले चालेको यो असंवैधानिक कदम विरुद्ध गाउँ र वडा वडामा पुगेर भण्डाफोर गरौं । यो प्रतिगामी कदमको विरोध गरेरै जसपा स्थापित हुने पक्का छ ।”

उत्पीडित समुदायको हित र अधिकारको निम्ति लड्ने पार्टी नै जसपा रहेको हुँदा अब साना शक्ति र झुण्ड बनाएर पहिहानको निम्ति लडेर समय बर्बाद गर्नु भन्दा जसपामा एकतावद्ध भएर लाग्न उपयुक्त हुने उनको भनाई थियो । १० जोड एकको मुद्दालाई बलियो बनाउन सक्दा मात्रै पहिचान पक्षधरहरुले चाहेको अधिकार प्राप्त हुने दावी गर्दै चेम्जोङले नेपालमा कायम विभेद् अन्त्य गर्न जसपाले बाहेक अरुले नसक्ने ठोकुवा गरे ।

जनमुक्ति, लिम्बुवान मन्च लगायत पार्टीहरुतर्फ लक्षित गर्दै सङ्घीय लिम्बुवान पार्टीका उपाध्यक्ष मचिन्द्र बेघाले सडकमा रहेका साना राजनीतिक शक्तिहरुलाई पनि समेट्दै जनता समाजवादी पार्टी, नेपालमा आवद्ध गराउँदै पहिचान पक्षधर शक्तिलाई मजबुद बनाउन जरुरी छ ।

प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङले जसपा देशको एक मात्र अग्रगामी शक्ति भएको जिकिर गरे । उनले १० जोड १ प्रदेश सहित उत्पीडितहरुको अधिकार र पहिचान स्थापित गर्ने कार्यदिशा जसपासँग मात्रै रहेको हुनाले यो शक्ति नै जनताको शक्ति र विकल्प भएको दावी गरे ।

कार्यक्रममा लिम्बुवान समिति सदस्य खगेन्द्र माखिम, केन्द्रीय सदस्यहरु उमेश थापा, दिपेन्द्र आङ्देम्बे, प्रदेश सदस्य एबिराज आङ्देम्बे, लिम्बुवान सदस्य गणेश चेम्जोङ लगायतले बोलेका थिए ।


जसपा पाँचथर अध्यक्षमा पुन: लावती

यसैबीच शुक्रबार सम्पन्न जनता समाजवादी पार्टी, नेपालको पाँचथर जिल्ला अध्यक्षमा पुन: लक्षमण लावती चयन भएका छन् ।
सम्पन्न जिल्ला समन्वय समितिको समायोजन भेलाले लावतीको नेतृत्वमा १५७ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।
समायोजित समितिका उपाध्यक्षहरुमा नरेश चाम्लिङ, भरत राई र हेम केलाङ जबेगू, सचिवमा कमलराज नेम्बाङ, सहसचिवहरुमा सूर्यकिरण साम्पाङ, सुबास तुम्बापोर लक्ष्मी राई चयन भए भने कोषाध्यक्षमा भावना इङ्वा चयन भइन् ।
त्यस्तै अन्य सदस्य रहेका छन् ।

समायोजनका क्रममा कमलराज नेम्बाङको नेतृत्वमा सिङ्गो सङ्घीय लिम्बुवान पार्टी, पाँचथर जिल्ला समिति जनता समाजवादी पार्टीमा समायोजित भएको अध्यक्ष लावतीले जानकारी दिए । त्यस्तै पूर्व राजपाका जिल्ला नेताहरुलाई पनि जिल्ला समितिमा समावेश गरी समायोजन सम्पन्न गरिएको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु