पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग राखि गतिबिधि गर्दै आएका लिम्बुवानजन्य संगठनहरुबीचको समायोजन प्रक्रिया सुरु भएको छ ।
पहिलो चरणमा कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल र सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान पार्टी नेपालबीच समायोजन प्रक्रिया सुरु भएको दुबै संगठनका नेताहरुले बताएका छन् ।
बिहीबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उपाध्यक्ष तथा संगठनको तर्फबाट एकता तथा समायोजन बार्ता टोलिका संयोजक ज्ञान बहादुर गुरुङले लिम्बुवानजन्य संगठनहरु छिन्नभिन्न हुँदा आन्दोलन कमजोर हुँदै गएकाले एकता र समायोजनको प्रक्रिया सुरु गरिएको बताए ।
त्यस्तै संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष तथा उक्त संगठनको तर्फबाट बार्ता टोलिका संयोजक रामकुमार लिङदेनले विगतमा लिम्बुवानजन्य संगठनहरुबीच एकता भए पनि स–सानो बिवादका कारण फुट हुँदा अन्ततः लिम्बुवान प्राप्तीको आन्दोलनलाई नै घाटा भएकाले अब एकिकृत शक्ति निर्माण गरेर लड्नुको बिकल्प नभएको बताए ।
समायोजन प्रक्रियाको पहिलो चरण अन्तर्गत संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदेन, क्या.सुरेन्द्रप्रकाश जबेगु, केन्द्रीय सदस्यहरु सिंहराज नेम्बाङ, शशी जबेगु, सीता जबेगु, कर्ण काम्बाङ लगायत नेताहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालमा समाहित भएको मञ्चका महासचिव संगम खनालले बताए ।
सबै जनालाई महाधिवेशन सम्मका लागि साबिकको पद र जिम्मेवारी प्रदान गरिएको र जिल्ला नगर, गाउँ र वडा समितिहरुको समायोजन प्रक्रिया पनि सोहि अनुरुप अगाडि बढाइएको बताइएको छ ।
फिदिमस्थित सिंगापुर होटलमा भएको कार्यक्रममा केन्द्र तथा जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल, पाँचथरका अध्यक्ष सागर केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । नयाअनलाइनबाट

