adv
adv

जसपा झापाको पार्टी समायोजन टुङ्गियो : कार्यदल


दमक, १९ फागुन ।
जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समायोजन कार्यदलले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर झापा जिल्लामा पार्टी समायोजन कार्य टुङ्गिएको जनाएको छ ।

झापा जिल्ला समायोजनको विषयमा सामाजिक सञ्जालहरुमा भ्रम र अन्योलता उत्पन्न गराइएको भन्दै कार्यदलले आफ्नो धारणा सार्वजनिक गरेको कार्यदल सदस्य एवम् प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।

कार्यदलले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विग्यप्तिमा पार्टी जिल्ला समायोजन सम्पन्न भएको र जिल्ला अध्यक्षमा अनुतसिंह राजवंशीलाई जिम्मेवारी दिइएको उल्लेख छ भने समायोजित जिल्ला समन्वय समिति २२५ सदस्यीय रहने जनाइएको छ ।

त्यस्तै पूर्व समाजवादी तर्फका जिल्ला अध्यक्ष दिपेन बाला राईलाई विकल्प सहित सह–अध्यक्ष वा प्रदेश समिति सदस्यमा जिम्मेवारी दिने निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।

जारी विग्यप्तिमा प्रदेश १ का १४ जिल्ला मध्ये अन्य जिल्लामा राजपालाई नेतृत्वमा स्थापित गर्न सम्भव नभएकोले पार्टी एकताको मर्म र भावनालाई ठेस नपुर्याउन झापामा नेतृत्व प्रदान गरिएको उल्लेख छ ।

११ सदस्यीय कार्यदलले जिल्ला समायोजन कार्य सर्वसम्मत भएको भन्दै सबैलाई यसै निर्णयका आधारमा मिलेर अघि बढ्न भनेको छ । पत्रकार सम्मेलनमा चाम्लिङ सहित कार्यदलका सदस्यहरु सूर्यनारायण गणेश, शंकर राजवंशी, मानबहादुर राई, प्रेमदिप थाम्सुहाङ, अनुतसिंह राजवंशी, देबेन्द्र ढुङ्गाना सहभागी थिए ।

समायोजनले पार्टी एक ढिक्का भयो ः पूर्व जिल्ला पदाधिकारीहरु
यसैबीच बुधबार नै पूर्व समाजवादी र राजपाका झापा जिल्ला पदाधिकारीहरुले विज्ञप्ति जारी गरेर झापा जिल्लामा पार्टी समायोजन कार्य सम्पन्न भएको बताएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी झापा जिल्ला समन्वय समितिको लेटरप्याड प्रयोग गरेर भ्रम फैलाउन खोजेको भन्दै उनीहरुले समायोजनको पक्षमा रहेको जनाएका हुन् । जारी विज्ञप्तिमा भनिएको छ –‘कार्यदलले सर्वसम्मत गरेको निर्णय अनुसार अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति बन्ने भनी निर्णय भइसकेको छ । पूर्व दुवै पार्टी समितिका पदाधिकारीहरुलाई कार्यदलले नै विकल्प समेत प्रदान गरेर राजनीतिक भविष्य सुनिश्चित गर्ने कार्य गरेको हुँदा कार्यदलको सर्वसम्मत निर्णयलाई पार्टी एकता विरोधी भन्नु सरासर गलत र भ्रामक रहेको हाम्रो ठहर हो ।’

विज्ञप्तिमा पूर्व राजपा तर्फबाट अध्यक्ष अनुतसिंह राजवंशी सहित पदाधिकारीहरु मेरी राजवंशी, देवेन्द्रकिशोर ढुङ्गाना, खड्गनारायण राजवंशी, पुष्पितादेवी साह, कृष्णप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् भने पूर्व समाजवादीतर्फबाट उपाध्यक्ष सङ्गीता रौनियार सहित कान्छा हुमाँगाई (गोकुल), बुद्ध बराइली र गणेश दाहालले हस्ताक्षर गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु