
काठमाडौं, २० फागुन । सरकारी वार्ता टोली र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच जारी वार्ता टुङ्गोमा पुगेको छ ।
बुधबार दुवै पक्षबीच तीन बुँदे सहमति सहित वार्ता सम्पन्न भएको हो ।
विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिवन्ध फुकुवा गर्ने र पक्राउ परेका नेकपाका नेता कार्यकर्ता छोड्ने सहमति भएको दुवै पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
राजनीतिक समस्याहरु सम्वाद्का माध्यमबाट समाधान गर्दै जाने प्रेस नोटमा उल्लेख छ ।

सहमतिको पूर्ण विवरण बिहीबार २ बजे विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रबिक्रम चन्द (विप्लव) ले सार्वजनिक गर्ने बताइएको छ ।
प्रतिवन्धित विप्लव समूहका दुई हजार भन्दा बढी संख्यामा नेता कार्यकर्तालाई सरकारले पक्राउ गरेर मुद्दा चलाइरहेको छ । उसले सो समूहलाई २०७५ फागुन २८ गते प्रतिवन्ध लगाएको थियो ।

