
विर्तामोड । महिला उद्यमी संघ नेपालले श्रमजीवि महिला पत्रकारहरुको छाता संगठन नारी संचार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि सहयोग प्रदान गरेको छ ।
सोमबार १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उद्यमी महिलाहरुको संस्थाले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम ,सचिब भूमिका लिम्बू सहितको टोलीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष नैनकला भट्टराई लगायत उद्यमीको टोलीले १० हजार एकसय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको नारी संचार गृहकी सचिब भूमिका लिम्बूले जानकारी दिईन्।
सोही अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश–१ सदस्य तीर्थ सिग्देलले पनि पूर्व घोषित ५ हजार रुपैयाँ अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए ।

यसैबीच दुईजना श्रमिक महिलालाई प्रोत्साहनस्वरूप सम्मान गर्नुका साथै श्रम गर्ने उपकरण समेत प्रदान गरेका थिए । सम्मानित हुनेहरुमा विगत २५ वर्षदेखि सडक पेटीमा बदाम,मकै पोलेर विक्री गर्दै आएकी जोस्ना उराउ र १० बर्षदेखी फ्रेस हाउस सञ्चालक कविता बास्तोला रहेका छन् ।

महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, एवीसी नेपालका प्रदेश सदस्य कञ्चना ढकाल लगायतले शुभकामना राखेका थिए ।

महिला उद्यमी संघ नेपाल झापाका बरिष्ठ उपाध्यक्ष यशोदा चापागाँईले स्वागत गरेको कार्यक्रमको औचित्य माथि महिला उद्यमी संघ नेपालका प्रदेश संयोजक गोमा भट्टराईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव शर्मिला अधिकारीले गरेकी थिईन् ।

