
काठमाडौँ, २० चैत । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई एक एक लाख तथा पुरस्कार रकमको पाँच हजार अमेरिकी डलर पनि खेलाडीलाई नै वितरण गर्ने घोषणा गरिसकेको छ ।

