adv

एमालेबाट निर्वाचित प्रदेशसभाका चार सांसदहरु पद मुक्त

सुर्खेत, १३ बैशाख ।एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसदहरु पद मुक्त भएका छन् ।सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् ।

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् ।

यी चारै जनाले बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।

हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । ज्वाला भने कुनैपनि जिम्मेवारीमा छैनन् ।

सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् ।

सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु