adv

नेपालको हालसम्मकै ठूलो परियोजना माथिल्लो तामाकोशीमा बैशाख अन्त्यबाट विद्युत उत्पादन

काठमाडौं । निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । शनिबारदेखि आयोजनाको जलाशयमा पानी भर्ने काम सुरु भएसँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, ‘शनिबारदेखि आयोजनाको जलाशयमा पानी भर्ने काम सुरु भएको छ । यो मंगलबारसम्म जारी रहन्छ, र मंगलबार बालुवा थिगार्ने पोखरीमा पानी जम्मा गर्छ र बुधबारदेखि आयोजनाको मुख्य सुरुङमा पानी पठाउन सुरु गर्नेछौं ।’ मुख्य सुरुङमा पानी भरिन केही समय लाग्ने हुँदा पानी पठाउन सुरु गरेको दुई साता अर्थात् यो महिनाको अन्त्यतिर विद्युत् उत्पादन सुरु हुने प्रवक्ता न्यौपानेले बताए ।

उनले भने सुरु गरिएको पानी परीक्षणका क्रममा तामाकोसीको पानी रोक्ने र छोड्ने काम गर्नुपर्नेहुन्छ । पानी रोक्ने र छोड्ने काम गर्दा कुनैबेला एकैपटक धेरै मात्रामा पानी छोड्नुपर्ने पनि हुन सक्छ । यसो गर्दा बाँधदेखि तल्ला तटीय क्षेत्रअन्तर्गत किनारामा पर्ने स्थानमा पानी घटबढ भइरहने हुँदा तटीय क्षेत्रमा सजग रहन आग्रहसमेत गरिएको छ ।

बहुप्रतीक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलो नेपालीलगानीको परियोजना २०६५ चैतमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार पारिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको आयोजनाको लागत पनि बढेको छ । यो आयोजनाको लागत ३५ अर्बबाट बढेर ब्याजबाहेक ५२ अर्ब पुगेको छ भने हालसम्मको ब्याज २४ अर्ब पुगेको आयोजनाले जनाइएको छ ।

पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन २०६७ मा सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको ११ वर्ष पूरा हुन लाग्दा अहिले आएर बल्ल परीक्षण थालिएको हो । पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा डेढ दुई साताभित्र परीक्षण कार्य सम्पन्न गरिनेछ । आयोजना कार्यालयका अनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनामा पानी परीक्षण सम्पन्न भएपछि टर्बाइन र जेनेरेटरको परीक्षण थालनी हुनेछ ।

चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु