धरान, २६ जेठ । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमिमता र भ्रष्टाचार छानबिन गर्न र दोषी उपर कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले माग गरेको छ ।
नेकपा सुनसरीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ –‘आज सम्म दृश्य र अदृश्य रुपमा भएको भ्रष्टाचार लाई संबंधित निकायले यथाशीघ्र छानवीन गरि दोषी उपर कार्वाही गरि कानुनि राज्यको महसुस आम जनतालाई गराइयोस् । विशेष गरि प्रतिष्ठानका उपकुलपति र निर्देशक जस्तो महत्वपूर्ण जिम्मेवारीमा बसेर नागरिकको थोपा–थोपा रगतलाई द्रव्य मुहान बनाउने निकृष्ट हर्कत नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टी लाई रत्तिभर मान्यछैन ।
अस्पतालको आकस्मिक सेवा, दैनिक ओपीडी सेवा र पछिल्लो कोभिड –१९ को उपचारमा समेत अस्पताल ब्यवस्थापनको चरम लापरबाही र अनियमितता रहेको जनगुनासोलाई समेत सम्बोधन गर्न नसकेको भन्दै नेकपाले विज्ञप्तिमार्फत छानबिन र कारबाहीको माग गरेको हो ।
प्रतिष्ठानको आन्तरिक सर्कुलरमा उल्लेख गरिएका विषयहरुले नै अनियमितता, भ्रष्टाचार र बेथितिको पराकाष्ठा देखिएको भन्दै उसले राज्यलाई कारबाहीका लागि माग गरेको हो ।
विज्ञप्तिमार्फत विपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाई रिति, थिति र पारदर्शी अवस्थामा फर्काउन आम धरानबासी नागरिक समाज, राजनैतिक पार्टीहरु, पत्रकार लगायत सबैले दवाब दिएर दायरामा ल्याउनको लागि भन्दै नेकपा सुनसरीले अपिल गरेको छ ।