इलाम । इलामको माङसेबुङमा कोरोना संक्रमणका कारण बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ।
माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमाको १० घण्टाको अन्तरमा निधन भएको हो।
टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए। लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ। उनीहरु ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका थिए। दम्पतीका दुई छोरा, एक बुहारी र दुई नातिसमेत कोरोना संक्रमित छन्। उनीहरुको अवस्था भने सामान्य छ।
इलाममा बिहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै जिल्लामा संक्रमित संख्या २ हजार १ सय ४४ पुगेको छ। संक्रमितमध्ये १ हजार ७ सय २१ जना निको भइसकेका छन्।
संक्रमितमध्ये ५२ जनाको यसअघि नै निधन भइसकेको थियो। जिल्लाभर ३ सय ७१ जना संक्रमित उपचाररत रहेका जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।