काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मतदानमा २४९ उपस्थित भएका थिए । मतदानमा उनको पक्षमा १६५ मत खसेको छ भने विपक्षमा ८३ मत परेको थियो । साथै एक संसद तटस्थ रहनुभएको थियो । प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
यसैबीच विश्वासको मत पाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दललाई धन्यवाद व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा दलीय रुपमा दलका नेताहरुले समर्थन गर्ने प्रतिवद्धता जनाउनुभएपछि संसदमा उठेको जिज्ञासाको जवाफ दिदैं प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गरेका हुन् ।
प्रतिनिधिसभा विघटन गर्न कसैले नसकोस् भनेरै संविधानको धारा ७६ उपधारा ५ राखिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूभागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताए । त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल लिने बताए ।
संविधान समावेशी र समानुपातिक चरित्रको भएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले अझै जनजाति, थारु, मधेसको मुद्दा सम्बोधनका लागि आफूले दलसँग छलफल गर्न तयार रहेको बताए । सबै नेपालीको साझा देश नेपाल भएकाले सबैको माग सम्बोधन गरिने बताए । सबैको माग सुनुवाई गर्नकैलागि समावेशी संविधान निर्माण गरिएको उनले प्रष्ट पारे ।
अहिले कोरोना महमारी कायमै रहेकाबेला बाढी पहिरोको प्रकोपले समस्या पारिरहेकाले सबैले मिलेर समस्याको समाधानमा लाग्नुपर्ने उनले बताए । विकासभन्दा अघि जनताको जीवन बचाउन आवश्यक भएकाले उनले खोपको उचित प्रबन्ध गरिने बताए । छिमेकी देशसँग राम्रो सम्बन्ध बनाउँदै अन्य देशसँग पनि सहकार्य सुमधुर बनाउनेमा ध्यान दिने उनले प्रष्ट पारे।
अगाडिका दिन चुनौतिपूर्ण रहेकाले सबै दल सँगै मिलेर जानुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाले चर्चा गरे । सकेसम्म सहमतीको राष्ट्रिय सरकार बनाउँ भन्दै प्रधानमन्त्री देउवाले एमाले दललाई सहमतिमा आउन आव्हान गरे ।