adv

‘ढाक्रेको गीत अनि कविता’ विमोचित

दमक, २६ साउन । जुद्ध ढाक्रेको साहित्यिक कृति ‘ढाक्रेको गीत अनि कविता’ सोमबार विमोचन भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहका बीच पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सो कृतिको विमोचन गरेका हुन् ।

वरिष्ठ नेता राईले कृतिकार ढाक्रेका गीत र कविताहरु प्राकृतिक छाँगा, छहरा जस्तै भएको बताए । आफूले कृति पढेको भन्दै उनले ढाक्रेका गीत र कविताहरु पढ्दा प्राकृतिक आनन्द प्राप्त गर्न सकिने बताए ।

राईले कुनै पनि स्रष्टाको सिर्जना आफैमा राम्रो वा नराम्रो हुने नभई पाठकको दृष्टिकोण र मानिसले निर्माण गरेको सांस्कृतिक मान्यता वा दार्शनिक चेतना अनुसार फरक पर्ने सुझाए ।

कृतिका बारेमा समीक्षात्मक टिप्पणी राख्दै जसपाका केन्द्रीय सदस्य राजकुमार राईले ढाकर बोक्ने ढाक्रेले दुःख सुखका गीत सुसेल्ने भए पनि कवि हुन नसक्ने बताए । तर, स्रष्टा जुद्ध ढाक्रेले भने गीत र कविता कृति नै प्रकाशन गरेर नौलो परिवेश अनुसार ढाक्रेलाई परिमार्जित गर्न सफल भएको राईको भनाइ थियो ।

उनले ढाक्रेका गीत र कविताहरुमा कतै प्रेम सम्बन्धी गुनासोहरु, कतै निर्वाध रुपका भावनाहरु पोखिएको वा सबै खालका भावनाहरु पोखिएको बताए ।

कार्यक्रममा कृतिका स्रष्टा जुद्ध ढाक्रेले आफ्नो गीत र कविता आफू जस्तै सरल र वास्तविक भएको बताए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ९ का ढाक्रेले भन –‘म जे हुँ त्यही लेखेको छु ।’ उनी जसपा केन्द्रीय सदस्य पनि हुन् ।
समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापनमा जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेत, जसपा खोटाङका नेता मविन्द्र राई लगायतले गरेका थिए ।

कृतिको प्रकाशक दुर्गा रुम्दाली छन् भने वितरक समाजवादी साँस्कृतिक महासंघ रहेको छ । २८ वटा गीत र नौवटा कविता समावेश कृतिको मूल्य १ सय रूपैयाँ रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु