काठमाडौं । झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (मंगलबार) भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलेले गरे । खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए ।
पहिलो हाफमा एक गोलले पछाडी परेको झापाले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलको २७ औं मिनेटमा लामाले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।
तर झापाका गोलेले ३९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
६० मिनेट खेलाइएको फाइनल खेलको दोस्रो हाफको इन्जुरी समयमा गोलेले पुनः गोल गरेपछि झापाले उपाधिमा कब्जा जमाउन सफल भयो ।
दोस्रो हाफको इन्जुरी समयमा झापाका सन्तोष बस्नेतले भने रातो कार्ड खाएका थिए ।
प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ झापाका श्याम कुमार गोले प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट, रुपक कुमार गुरुङ उत्कृष्ट गोल किपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।
खुमलटारका विनोद खड्गी उत्कृष्ट डिफेन्डर घोषित भए भने जुमानु राईले गोल्डेन बुट अवार्ड प्राप्त गरे ।
फुटबर्लस मिसन टुगेदरले प्रतियोगिता आयोजना गरेको थियो ।