
काठमाडौं, १७ कार्तिक ।राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सातै वटा प्रदेश सभाका महिला सांसदहरुको क्षमता अभिवृद्धिका लागि बुधबार ‘भर्चुअल अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तरगत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले कार्तिक १२, १३, १५ र १६ गते अन्तरक्रिया सञ्चालन गरेको हो ।
४ दिने अन्तरक्रियामा विभिन्न ४ वटा विषयहरुमा सम्बन्धित विषय विज्ञहरुले सहजकिरण गरेका थिए । कार्यक्रममा संविधानसभाका सांसद एवम् लैंगिक समानता र सामाजिक समावेशीता विज्ञ पेम्बा लामाले ‘लैङ्गिक प्रतिच्छेदनात्मक अन्तरसम्बन्ध’ बारे सहजीकरण गरेका थिए भने दोस्रो दिन अधिवक्ता डा. कुन्साङ योञ्जनले ‘स्व–निगरानी र स्व–मुल्याङ्कन’ विषयमा छलफल सञ्चालन गरेका थिए ।
त्यसैगरी तेस्रो दिन ‘पारस्परिक सञ्चार र सम्झौता प्रकृया’ विषयमा सञ्चारकर्मी अमरध्वज लामाले अन्तरक्रियाको सहजीकरण गरेका थिए भने चौंथो तथा अन्तिम दिन योजनाविद् रामशरण प्याकुरेलले ‘व्यक्तित्व विकास’ बारे सहजीकरण गरेका थिए ।
नेपालको संघीय व्यवस्थालाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) सँगको सहकार्यमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संसद सहयोग परियोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक डाक्टर राजबहादुर श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी, संसदीय सहयोग कार्यक्रम (युएनडिपी) का संसदीय मामिला टोली प्रमुख डाक्टर यामबहादुर किसन, निफका उपाध्यक्ष यशोकान्ती भट्टचन, महासचिव कृष्णकुमारी वाइवा लगायतले प्रदेशसभामा विभिन्त जाति र समुदायको महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई प्रभावकारी बनाउन भर्चुअल अन्तरक्रियाले सघाउने बताए ।
कार्यक्रममा पूर्वमन्त्री करिना बेगम, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती (विष्ट) लगायत ३० जना महिला सांसदहरु सहभागी थिए ।

