मेचीनगर,१८ कार्तिक । झापाको मेचीनगर–२ भृकुटिमा जारी झापा जिल्ला स्तरिय फाइभ स्टार च्यालेञ्ज कपको उपाधि आयोजक फाइभस्टार युथ क्लबले जितेको छ ।
बुधवार भानु माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा रोलिङ्ग क्लब धुलाबारीलाई टाइब्रेकरमा ५/४ गोलले पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
दुवै टिमको तर्फबाट २÷२ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । विजेता टोली फाइभस्टार युथ क्लबको लागि जर्सी नम्बर १२ का पबिन तामाङ्गले पेनाल्टीमा र जर्सी नम्बर १३ का रिक्की प्रधानले १–१ गोल गरेका थिए ।
त्यस्तै उप–विजेता टिमको लागि जर्सी नम्बर १२ का पुजन राई र जर्सी नम्बर १३ का सुनिल मगरले १–१ गोल गरेका थिए । घरेलु मैदानमा उत्रिएको फाइभस्टार युथ क्लबले दर्शकको एकदमै ठूलो साथ पाएको थियो । उता धुलाबारी रोलिङ्ग क्लबले भने आँफूले गरेको स्कोरलाई टिकाइ राख्न नसक्दा खेल टाइब्रेकरमा तानिएको थियो ।
विजेता टिमले नगद ५१ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता रोलिङ्ग क्लब धुलाबारीले ३१ हजार नगद सहित ट्रफि, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच जर्सी नम्बर १३ रिक्की प्रधान बन्न सफल भए ।
फाइनल खेल सुरू हुनु पुर्व वडा नंम्बर १ र २ विच प्रतिस्पर्धात्मक खेल भएको थियो । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च झापा र स्थानिय विच समेत मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो ।