adv

मदन पुरस्कारबाट इङ्नाम र जगदम्बा श्री सम्मानबाट थापा पुरस्कृत

दमक, २५ कार्तिक ।


२०७७ सालको मदन पुरस्कार इतिहासकार भगिराज इङ्नामलाई प्रदान गरिएको छ ।

बुधबार मदन पुरस्कार गुठीले एक कार्यक्रमका बीच इङ्नामलाई पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा–श्री सम्मान प्रदान गरिएको थियो ।

भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह संवत् १७१९–२०२०’ पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको हो भने नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान गरी उचाइ प्रदान गरेको भन्दै नृत्यशास्त्री थापालाई जगदम्बा–श्री सम्मान २०७७ प्रदान गरिएको मदन पुस्कार गुठीले जनाएको छ ।

मदन पुरस्कार पाएपछि लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमोदन भएको जिकिर गर्दै पुरस्कारले इतिहासको खोज, अनुसन्धानमा काम गर्ने अन्य व्यक्तिलाई पनि प्रेरणा दिने बताएका थिए ।

नृत्यशास्त्री थापाले आफ्नो कामको मूल्यांकन भएकोमा खुसी लागेको बताएका थिए । राज्यले आफ्नो कामको मूल्यांकन नगरे पनि मदन पुरस्कार गुठीले मूल्यांकन गरेको उनको भनाइ थियो ।

ललितपुरको रातो बङ्गला स्कूलको सभाहलमा आयोजित एक समारोहका बीच दुवै स्रष्टालाई जनही चार लाख रूपैयाँ नगद पुरस्कार राशीसहित गुठीका अध्यक्ष कुन्द दीक्षितले सम्मान पत्र प्रदान गरेका थिए ।

मदन पुरस्कारको स्थापना २०१२ असोज १० गते भएको थियो । २०१३ सालमा पहिलो मदन पुरस्कार सत्यमोहन जोशीले ‘हाम्रो लोक संस्कृति’ कृतिबाट पाएका थिए । यसैगरी जगदम्बा–श्री सम्मानको स्थापना २०४५ सालमा भएको हो । यो सम्मान पाउने पहिलो व्यक्ति स्वर सम्राट नारायण गोपाल थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु