दमक, २५ कार्तिक ।
पेट्रलियम पदार्थ लगायतमा भइरहेको मूल्यवृद्धिका विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्द आह्वान गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गरेर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग समेत गरेका छन् ।
विज्ञप्तिमा कार्तिक २५ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । जसअन्तर्गत आज बिहीबार ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा देशव्यापी प्रदर्शन गर्ने उल्लेख छ ।
त्यस्तै कार्तिक २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलु र साँझ मशाल जुलुस गर्ने जनाएको नेकपाले ३० गते नेपाल बन्दको आह्वान गरेको हो ।
नेकपाले विज्ञप्तिमार्फत हाल गरिएको मूल्यवृद्धिलाई जनतामाथिको अन्यायपूर्ण उत्पीडन भनेको छ । साथै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र क्षेत्रमा असर पार्ने दावी गरेको छ ।
आ.व. ०७८/७९ को ४ महिनामा मात्रैमा ३ पटक भयो मूल्यवृद्धि
यसैबीच सरकारले चालु आ.व. मा भदौ ७, कार्तिक १२ र २५ गतेमा गरी पेट्रोलियम पदार्थमा ३ पटक मूल्यवृद्धि गरिसकेको छ ।
नेपाल आयल निगमबाट प्राप्त मूल्यसूची अनुसार आर्थिक वर्ष २०७८/०७९ सुरु भए यता मात्रै पेट्रोलियम पदार्थमा ३ पटक मूल्यवृद्धि भएको हो ।
असार ३० मा पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १२८ र १११ कायम गरिएको थियो भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १४२५ कायम थियो ।
आ.व. ०७८/७९ सुरु भएपछि भदौ ७ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलमा थप २–२ रूपैयाँ मूल्यवृद्धि गरेर पेट्रोलको भाउ प्रतिलिटर १३० र डिजेल र मट्टितेलको भाउ ११३ कायम गरेको थियो भने एलपी ग्यासमा थप २५ रूपैयाँ वृद्धि गरेर प्रतिसिलिण्डर १४५० पुर्याएको थियो ।
चाडबाडका बीच कार्तिक १२ गते पुनः गरिएको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १३३, डिजेल र मट्टितेलको भाउ ११६ कायम गरेको थियो भने एलपी ग्यासमा ५० रूपैयाँ वृद्धि गरेर प्रतिसिलिण्डर १५०० पुर्याएको थियो ।
निगमले गएराति १२ बजेबाट लागू हुनेगरी बिहीबार जारी गरेको मूल्य तालिका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा थप ३–३ रूपैयाँ मूल्यवृद्धि भइ पेट्रोलको भाउ प्रतिलिटर १३६ र डिजेल र मट्टितेल ११९ पुगेको छ भने एलपी ग्यासमा थप ७५ रूपैयाँ मूल्यवृद्धि गरेर प्रतिसिलिण्डर १५७५ पुर्याइएको छ ।
पछिल्लो पटक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रूपैयाँ कायम भएको निगमले जनाएको छ । यसअघि १२ कार्तिकमा पनि हवाई इन्धनको मूल्य बढ्दा हवाई भाडामा समेत वृद्धि भएको थियो ।