इलाम, २८ कार्तिक ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फानिज) इलाम शाखाले आदिवासी जनजातिको क्षेत्रमा योगदान गर्ने इलामका एक जना पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने भएको छ ।
फोनिज इलाम शाखाको शनिबार सम्पन्न बैठकले फोनिज स्थापना दिवसको अवसर पारेर हरेक वर्ष एक जना पत्रकारलाई नगद राशी १० हजार रूपैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कार वितरण प्रकृयालाई व्यवस्थित बनाउन भन्दै बैठकले ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा वितरण कार्यविधि २०७८’ पारित गरेको र ‘आदिवासी जनजाति योगदान पत्रकारिता कोष’ स्थापना गरी पुरस्कार वितरण कार्यलाई व्यवस्थित गरिने अध्यक्ष राम योङहाङबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
फोनिज सङ्घीय समितिको निर्णय अनुसार जिल्ला शाखाले १० दिनका लागि नयाँ सदस्यताका लागि आवेदन खुल्ला गर्ने तथा नवीकरण कार्य सम्पन्न गर्ने र मंसिर २५ गते जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको समेत विज्ञप्तिमा जनाइएको छ ।
फोनिज सङ्घीय समितिको कार्तिक १० गते नुवाकोटको ककनीमा सम्पन्न बैठकले आगामी मंसिर १५ गतेभित्र सदस्यता वितरण तथा नवीकरण गर्ने र मंसिर २५ गते एकैदिन सबै जिल्ला शाखा र प्रवास शाखाहरुको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ ।