दमक, १ मंसिर ।
घरेलु मैदानमा कतारलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले उसविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा कब्जा गरेको छ ।
नेपालले लागतार पहिलो र दोस्रो खेल जित्दै तीन खेलको सिरिजमा सहज कब्जा जमाएको हो ।
बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारविरुद्ध ६१ रनको जित निकाल्दै सिरिज जितेको हो । कतारको दोहामा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रनको औसत योगफल तयार गरेको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको महत्वपूर्ण योगदान गरिन् । टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा क्षेत्रीको यो नै पहिलो अर्धशतक हो । त्यस्तै कविता कुँवरले ३१ रनको योगदान दिइन् । अप्सरी बेगम २३ रन र कविता जोशी शून्य रनमा अविजित रहे ।
कतारकी एन्जेलिनले २ विकेट लिइन् भने एलिना, साची र सबिजाले समान १–१ विकेट लिए ।
जबाफी ब्याटिङ गरेको कतारले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र जोड्न सक्यो । बलिङमा चम्किएकी नेपालकी सरस्वती कुमारी एक्लैले ४ विकेट लिइन् ।
अघिल्लो दिन मंगलबारको पहिलो पहिलो खेलमा पनि नेपालसँग कतार १९ रनले पराजित भएको थियो ।
३ खेलको सिरिजअन्तर्गत भोलि अन्तिम खेल हुनेछ ।