दमक, १ मंसिर ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै चलिरहेको आन्दोलनको बारेमा नेपाल पत्रकार महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
बुधबार विज्ञप्ति जारी गरेर महासंघले नेपाल बार एशोसिएसन र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रस्तुत गर्न न्यायालयका नेतृत्वलाई आग्रह गरेको हो ।
न्यायालयका नेतृत्व भन्ने शव्दावली प्रयोग गरेर महासंघले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न भन्दै यस्तो आग्रह गरेको हो ।
जारी आन्दोलन बारे ध्यानाकर्षण भएको भन्दै महासंघले विज्ञप्तिमा जनताको न्याय निरूपण गर्ने अन्तिम निकाय सर्वोच्च अदालतमै देखिएको घटनाप्रति चिन्ता समेत व्यक्त गरेको छ ।
आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल गर्न आग्रह गर्दै महासंघले सर्वोच्च अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाट वञ्चित भएको टिप्पणी गरेको छ ।
अदालतमा समस्या उत्पन्न भएको अवस्थामा सरकार, राजनीतिक दलहरु मौन बसेको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ । साथै समस्या समाधानका लागि अग्रसरता लिन सरकार र दलहरुलाई अपील समेत गरेको छ ।
प्रधानन्यायाधीश जबराले सरकारमा भागवण्डा खोजेको, न्यायपालिकाको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेको, न्यायिक विचलन देखिएको जस्ता आरोप लगाएर नेपाल बार एशोसिएसनले तीन हप्तादेखि सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेको छ । सर्वोच्चका अदालतका सबै न्यायाधीशहरुले पनि आन्दोलनलाई समर्थन गर्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् ।