दमक, ८ मंसिर ।

झापा क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य अर्जुन राईले आसन्न १० औं एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
नेकपा एमालेभित्र शालिन, अनुशासित र निष्कलंक नेताको छवि बनाएका राईले चितवनमा मंसिर १०–१२ मा सम्पन्न हुने महाधिवेशनमा जनजाति समूहतर्फबाट केन्द्रीय सदसयमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
झापाको दमकस्थित पत्रकार मञ्चको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य राईले लामो समयसम्म एमालेमा रहेर काम गरेको र पटक–पटक जननिर्वाचित प्रीतनिधिका रूपमा सेवा गरेको आधार प्रस्तुत गर्दै आफ्नो उम्मेद्वारी अब्बल र न्यायीक हुने जिकिर गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै राईले भने –‘जबजको आलोकमा पार्टीलाई लोकतान्त्रिक मार्गमा अझै सुदृढ बनाउन म प्रतिबद्ध छु, पार्टीलाई राजनैतिक र वैचारिक रूपले सु–स्पष्ट बनाउँदै संगठनात्मक सुदृढीकरणका लागि दुढ संकल्पित छु ।
२०३५ सालदेखि भूमिगत वाम आन्दोलनमा लागेका राई २०४९ सालमा तोपगाछी गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । उनले २०५१ सालमा गठित सुकुम्बासी समाधान आयोगको झापा जिल्ला अध्यक्ष भएर कार्य गरिसकेका छन् भने २०५४ सालमा जिल्ला विकास समिति झापाको सभापति भएर कार्य गरेको अनुभव छ ।
एमाले केन्द्रीय अनुशासन आयोगको सदस्यका रूपमा जिम्मेवारी सम्हालेका राई २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।