दमक, २० पुष ।

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने बताएका छन् ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग शिष्टचार भेटका क्रममा राजदूत बुर्बाओले यस्तो बताएका हुन् ।
उनले कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुन सक्नेतर्फ संकेत गरेका हुन् ।
भेटमा मन्त्री श्रेष्ठ र राजदूत बुर्बाओबीच नेपाल–फ्रान्सबीच आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले युरोपका अन्य मुलुकमा जस्तै फ्रान्समा पनि नेपाली युवाका लागि रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका थिए । उनले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको भनेको थिए ।
नेपाल–फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो ।