माङसेबुङ, १८ फागुन ।

माङसेबुङ गाउँपालिकाले स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।
माङसेबुङ गाउँपालिकाको स्थानीय राजपत्रमा गत फागुन ४ गते प्रकाशित स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी सूचना प्रकाशन तथा प्रशारण कार्यविधि २०७८ प्रकाशित गरेसँगै स्थानीय सञ्चार माध्यमहरु यस सेवाबाट लाभान्वित हुने पक्का भएको हो ।
गाउँपालिकाले प्रकाशन र प्रसारणको लागि उपलब्ध गराउने चेतनामूलक र सूचनामूलक सन्देशलाई सञ्चार माध्यमहरुले लोककल्याणकारी विज्ञापनका रूपमा प्रकाशन÷प्रसारण गरे वापत निश्चित रकम पाउने छन् ।
कार्यविधिमा उल्लेख भए अनुसार लोककल्याणकारी विज्ञापन वापत गाउँपालिकामा दर्ता गरिएको टेलिभिजनले १८ हजार, एफएम रेडियोले १० हजार, दैनिक पत्रिकाले १० हजार, अनलाइन पत्रिकाले १० हजार, अर्ध साप्ताहिक पत्रिकाले ८ हजार, साप्ताहिक पत्रिकाले ६ हजार, पाक्षिक पत्रिकाले ५ हजार ५ सय र मासिक पत्रिकाले ५ हजार रकम मासिक रूपमा पाउने छन् ।
गाउँपालिका कार्यालयले जनहितमा जारी सूचना र सन्देश प्रकाशन प्रसारण भए नभएको बारे अनुगमन गर्न सक्ने कार्यविधिमा उल्लेख छ । साथै सञ्चार माध्यमहरुले लोककल्याणकारी विज्ञापनको सुविधा प्राप्त गर्न तोकिएका शर्त र प्रवधानहरु पूरा गरेको हुनुपर्ने उल्लेख छ ।