दमक, २३ चैत्र ।

शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिक विद्रोही पक्षको गोलीको सिकार भएका छन् ।
शान्ति मिसनमा खटिएका ती नेपाली सेनामाथि विद्रोहीले गोली चलाएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो ।
अपरेसन ‘बाली’ चलिरहेको समयमा प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा ती सैनिकको गोली लागेर मृत्यु भएको हो ।
मृतक सैनिकको परिचय नखुलाइए पनि आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।
नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो । आक्रमणबाट घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको थियो ।

