विधिसम्मत नाम सिफारिस भएन : तामाङ र आङ्थुपो
विधिसम्मत नाम सिफारिस भएको हो : केरुङ
दमक, ५ वैशाख ।

इलामको चुलाचुलीमा नेपाली कांग्रेसक तर्फबाट आसन्न वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेद्वार को बन्ने भन्ने विषयलाई लिएर नेताहरुबीच विवाद उत्पन्न भएको छ ।
गाउँ कार्य समितिले सभापति राजेन्द्र केरुङको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि सो निर्णयको विरोधमा दुई जना स्थानीय नेताले पालिका अध्यक्ष पदको उम्मेद्वार सिफारिसमा मनोमानी भएको आरोप लगाएका हुन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य शान्तिकला राई तामाङ र इलाम जिल्ला सदस्य सुवास आङ्थुपोले उम्मेद्वारको सिफारिस गर्दा चुलाचुली गाउँ कार्य समितिका सभापतिले पार्टीको विधान र कार्यविधि उलंघन गरेको भनेका छन् भने सभापति केरुङले भने उम्मेद्वार सिफारिस विधिसम्मत भएको दावी गरेका छन् ।
तामाङ र आङ्थुपोले पत्रकार सम्मेलन नै गरेर यस विषयमा जानकारी गराइएको भनी भिडियोसमेत सार्वजनिक गरेका छन् भने केरुङले भने पत्रकार सम्मेलन गरेको बारे आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।
तामाङ र आङ्थुपोले कांग्रेसको जिल्ला कार्य समिति इलामका सभापतिलाई सम्बोधन गरेर वैशाख ३ गतेको मितिमा लेखेको निवेदनसमेत सार्वजनिक भएको छ । निवेदनमा गाउँ सभापतिको कदम पूर्वाग्रही, स्वेच्छाचारी र अलोकतान्त्रिक भएको भन्दै भत्र्सना गरिएको छ ।
हरप्रहर न्यूजले कांग्रेस चुलाचुली सभापति केरुङसँग यस विषयमा जानकारी लिँदा उनले गाउँ समितिले पार्टीभित्र वडातहबाटै आकांक्षीहरुको नाम संकलन गरेर सर्वसम्मत निर्णय गरेको बताएका छन् ।
विधान र कार्यविधिले सर्वसम्मत निर्णय गर्न नसकेको अवस्थामा मात्रै दुई पुरुष र एक महिलाको नाम सिफारिस गर्नुपर्ने भन्दै केरुङले वडा सभापतिहरुसहित पार्टीको गाउँ कार्यसमिति, कार्य सम्पादन समितिले अध्यक्षको उम्मेद्वारका रूपमा आफ्नो नाम सिफारिस गरी पठाउने निर्णय भएको दावी गरे ।
वडा समितिहरु मध्ये वडा नम्बर १ बाट आफूसहित शान्तिकला राई तामाङ र सुवास आङ्थुपो तीन जनाको नाम सिफारिस भएको र वडा नम्बर ६ बाट तामाङ र आफ्नो नाम सिफारिस भएको तर बाँकी चार वटा वडा समितिबाट भने आफ्नो मात्रै नाम सिफरिस भएको केरुङले खुलासा गरेका छन् ।
उम्मेद्वार सिफारिस आफूले नभइ पार्टीको बैठकले गरेको भन्दै सभापति केरुङले आफूमाथि लगाइएको आरोप गलत रहेको बताए । उनले भने –‘सहमति भए सहमतिबाट वा सहमति नभए बहुमतका आधारमा उम्मेद्वार सिफारिस गर्ने नेपाली कांग्रेसको संशोधित विधानमा व्यवस्था छ । हामीले विधानको व्यवस्था अनुसार नै उम्मेद्वार सिफारिसको निर्णय गरेका हौं ।
यता पालिका अध्यक्षका आकांक्षी आङ्थुपोले भने –‘आकांक्षीका रूपमा उम्मेद्वार म हुन्छु भन्ने निस्किएको खण्डमा पार्टीको बहुमत त के पूर्ण बहुमतले पनि रोक्न मिल्दैन । विधानमा दुई पुरुष एक महिला भनेर व्यवस्था गरेको छ । उहाँलाई सोधिदिनु होला एकल निर्णय गर्ने अधिकार कसले दियो ?
कांग्रेसबाट पालिका अध्यक्षका अर्का आकांक्षी तामाङले पनि आफू पूर्व जिल्ला उपसभापति र हाल महासमिति सदस्य भइसकेको हुनाले योग्यता पुगेको महसुस गरी अध्यक्ष पदको उम्मेद्वारीका लागि दावी पेश गरेको बताएकी छन् । उनले भनेकी छिन् –‘विधि विपरित उम्मेद्वार सिफारिस गलत भएको छ । यसमा मेरो घोर विरोध छ ।
केरुङले उम्मेद्वार सिफारिसको विषयमा बाहिर जे जस्ता कुरा आए पनि चुलाचुली कांग्रेस र सबै नेताहरु आसन्न स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नेमा आफू विश्वस्त रहेको जिकिर गरे । उनी २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट चुलाचुली गाउँपालिका अध्यक्षको उम्मेद्वार भइ नेकपा एमालेका उम्मेद्वार प्रदिपचन्द्र राईसँग पराजित भएका थिए ।

