काठमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनको मनोनयन दर्ताको दिन नजिकिँदैछ । उक्त निर्वाचनलाई एमालेले एक्लै सामना गर्ने सामथ्र्य गुमाएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनका कारण प्रतिस्पर्धा पेचिलो बन्ने भएपछि एमालेले प्रतिगामी तत्वलगायत उग्रवामपन्थी र विखण्डनवादी शक्तिसँग गठबन्धन गर्ने प्रयासमा जुटेको छ ।
२०७४ को निर्वाचनमा शून्यदेखि २ प्रतिशतसम्म मत पाएका दलहरु एमाले नेतृत्वको गठबन्धनमा सामेल छन् । ‘पोल्टा’ का नेता–कार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टी बनाएर यही निर्वाचन जाँदैछन् ।
एकताकालीन सहयात्री माओवादी, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, जनमोर्चा र मधेसमा बलियो पकड भएको जसपासँग निर्वाचन सामना गर्नु निकै कष्टकर हुने कुरा अहिले आएर अध्यक्ष केपी शर्मा ओलीले महसूस गरेका छन् ।
ओलीले आफ्नो निवास बालकोटमा आइतबार र सोमबार केही नेताहरुसँग चुनावी प्रतिकूलता चिर्नेबारे छलफल गरेको बालकोट स्रोतले दृष्टिलाई बताएको छ । स्रोतका अनुसार, ओलीले कांग्रेसका केही नेताहरुलाई उकासेर पाँच दलीय गठबन्धनलाई सके भाँड्ने, नसके पनि सहज ढंगले जान नदिने वातावरण बनाउनुपर्ने रणनीति बनाएका छन् ।
गठबन्धनले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने कुरामा करिव–करिव सहमति गरिसकेको छ । तर, यो कुरा सार्वजनिक भएलगत्तै सोमबार बिहानैदेखि पोखरा कांग्रेसका नेताहरुले दुईखाले अभिव्यक्ति दिन थालेका छन् ।
जहाँ–जहाँको मेयरमा समाजवादीलाई टुंगो लगाइँदैछ, त्यहाँ–त्यहाँका एकथरि कांग्रेस पंक्ति उत्तेजित बनाउने रणनीति बालकोटले बनाएको छ । सोमबार नै इटहरी उपमहानगरको मेयर एकीकृत समाजवादीले पाउने कुरा बाहिर आएपछि त्यहाँका कांग्रेस कार्यकर्ता तहका नेताहरुले स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कांग्रेस स्रोतका अनुसार, गठबन्धनभन्दा फरक किसिमले चुनावमा जाने कुरा पार्टीको आधिकारिक लाइन होइन । तर, कतिपय स्थानीय तहमा गठबन्धन गर्ने कुरामा समस्या देखिएपछि केन्द्रीय नेताकै तहबाट कुरा मिलाउने प्रयास जारी छ ।
‘यदि मित्रवत प्रतिस्पर्धाका नाममा एमालेलाई फाइदा पुग्ने रहेछ भने जुनसुकै मूल्य चुकाएर भए पनि गठबन्धन जोगाइन्छ’, एक कांग्रेस नेताले भने, ‘तर, मित्रवत प्रतिस्पर्धामा जाँदा पनि एमालेलाई हराउन सकिन्छ भने कतिपय ठाउँमा त्यस्ता कुरालाई खुला राखिदिऔँ भन्ने कुरा भएको छ ।’
पाँच दलीय गठबन्धनका कारण बाँकी दलका निम्ति निर्वाचन परिणाम अप्रत्यासित हुने सम्भावना देखिएपछि अहिले उक्त गठबन्धनलाई कमजोर र धर्मराएको भनी प्रचार गर्ने क्रम शुरु भएको छ । तर, गठबन्धनलाई बलियो बनाउने सूत्र केन्द्रबाट अबलम्बन गरिँदैछ ।
गठबन्धनको केन्द्रीय नीतिलाई कार्यान्वयन गर्नका निम्ति जुन–जुन पालिकामा जुन पार्टीको मुख्य उम्मेदवारी हुन्छ, बाँकी पार्टीले पनि उसैको चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सहमति गठबन्धनमा भएको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुले शुक्रबारभित्रै निर्वाचन आयोगलाई गठबन्धनको सूचना र चुनाव चिह्नबारे जानकारी गराउने भएका छन् ।
यदि त्यसो भयो भने दलभित्रको असन्तुष्टि नै भए पनि निर्वाचनलाई धेरै प्रभाव पार्दैन । एक कांग्रेस नेताले दृष्टिसँग भने, ‘चुनावमा बागी उम्मेदवार हुने कुरा त होला नै, तर पार्टीकै चुनाव चिह्नमा अर्को उम्मेदवार उठ्ने कुरा माथिबाटै रोकिनेछ ।’
उनले उदाहरण दिए, पोखराको । त्यहाँ यदि एकीकृत समाजवादीको मेयरविरुद्ध कांग्रेसका कोही नेताले उम्मेदवारी दिए भने पनि उनले रुख चिह्न रोज्न पाउँदैनन् । किनभने, त्यहाँ पहिल्यै गठबन्धन दलले कलम चिह्नमा चुनावमा भाग लिने जानकारी निर्वाचन आयोगलाई दिइसकेको हुन्छ । त्यसो गर्दा गठबन्धनका अरु चार दलका चुनाव चिह्नसमेत कसैले प्रयोग गर्न पाउँदैनन् ।
स्रोतका अनुसार, स्थानीय तह भाग लगाउने क्रममा महानगरपालिकामध्ये ललितपुरको उपमेयरमा माओवादीको दाबी जारी छ । तर, कांग्रेसले छोड्न मानेको छैन । कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरको मेयर दिने कुरामा सबै दल सहमत छन् । समाजवादीलाई पोखरा, माओवादीलाई भरतपुर, जसपालाई वीरगञ्ज दिने कुरा पनि गठबन्धनभित्र सहमति भइसकेको छ ।
ती–ती महानगरमा उपमेयरका विषयमा कुरा नटुंगिँदा सोमबार सहमति सार्वजनिक नगरिएको हो । उपमहानगरमध्ये एकीकृत समाजवादीलाई इटहरी दिने कुरामा कांग्रेसले आनाकानी गरिरहेको छ भने, जनकपुरमा जसपाको दावी जारी छ । माओवादी केन्द्रले दाङ घोराहीको मेयर नदिने भए गठबन्धन समस्यामा पर्ने बताएको छ । धनगढीमा एकीकृत समाजवादीको दाबी थियो । तर, उपमेयरसहित जाने कुरामा मोटामोटी सहमति भएको स्रोतले जनाएको छ ।
नगरपालिकाहरुको हकमा पार्टीको प्रदेशस्तरमा सहमति हुन नसके केन्द्रले हस्तक्षेप गर्ने भएको छ । ‘जहाँ–जहाँ समस्या आउँछ, त्यहाँ–त्यहाँ केन्द्रबाटै हस्तक्षेप हुनसक्छ’, एक कांग्रेस नेता भन्छन् ।
गठबन्धनबीच महानगर र उपमहानगरमा आधारभूत रुपमा सहमति जुटिसके पनि केही बिषय टुंगो लगाउनुपर्ने भएकाले गठबन्धनले सिट बाँडफाँटको निर्णय सार्वजनिक गर्न सकेको छैन । आज बिहानका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सरेका छ । दिउँसो बस्ने बैठकले सिट बाँडफाँट टुंगो लगाएर निर्णय सार्वजनिक गर्ने बताइएको छ ।दृष्टिबाट