प्रमुखसहित १० वटै वडामा उम्मेद्वार चयन
दमक, ९ वैशाख ।

बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) दमक नगर समितिले एक्लै चुनावमा सहभागी हुने भएको छ ।
एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा पँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने काँटछाँट नदेखिएपछि जसपाले एक्लै चुनावमा जाने निर्णय गरेको हो ।
सत्तासिन गठबन्धनमै भएर पनि कांग्रेस, एकीकृत माओवादीले जसपालाई नजरअन्दाज गरेको निष्कर्षसहित जसपाले एक्लै चुनावमा जाने तयारी थालेको जसपा दमक नगर सह–अध्यक्ष खेम दाहालले जानकारी दिए । दाहालले भने –‘गठबन्धनमा हामीलाई बेवास्ता गरियो । त्यसैले हामी अब आफ्नै बलबुँतामा चुनावमा जाने तयारीमा लाग्यौं ।’ उनले नगरका अन्य साना दलहरुसँग चुनावी सहकार्यका लागि भने निरन्तर सम्वाद जारी राखिने बताएका छन् ।
शुक्रबार सम्पन्न जसपा दमक नगर समितिको बैठक र भेलाले चुनावी तयारीसँगै प्रमुख र उपप्रमुखसहित वडास्तरसम्म उम्मेद्वार सिफारिस गरेको छ ।
पार्टीले नगर प्रमुखको उम्मेद्वारका रूपमा जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङसहित नगर सचिव सुनिल राई र नगर सदस्य दिपक लिम्बूको नाम सिफारिस गरेको छ ।
त्यस्तै नगर उपप्रमुखमा जसपा केन्द्रीय सदस्य हरिदेवी राई र नगर उपाध्यक्ष गंगा राई शेर्मालाई उम्मेद्वार सिफारिस गरेको छ ।
उम्मेद्वार सिफारिससँगै जसपा दमक नगरले प्रदेश सदस्य पवन विष्टको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
त्यस्तै जसपाले दमक वडा नम्बर १ को वडा अध्यक्षमा ओममाया आङदेम्बे, खुला सदस्यहरु रञ्जना सम्बाहाम्फे र हरिकुमार राई, महिला सदस्यमा पञ्चमाया लिम्बू र दलित महिला सदस्यमा कल्पना विश्वकर्मालाई उम्मेद्वार सिफारिस गरेको छ ।
वडा नम्बर २ को वडाध्यक्षमा युद्धबहादुर लावती (आकाश) उम्मेद्वार चयन भएका छन् भने वडा नम्बर ३ मा दिपक खड्का र वडा नम्बर ४ मा भीम विश्वकर्मालाई वडाध्यक्षको उम्मेद्वार चयन गरिएको छ ।
त्यस्तै दमक वडा नम्बर ५ बाट वडाध्यक्षमा राजु खड्का, खुल्ला सदस्यहरु भेषराज भट्टराई र कर्णबहादुर भण्डारी, महिला सदस्यमा उमा लिम्बू र दलित सदस्यमा सीता परियारलाई उम्मेद्वार बनाउने पक्का भएको छ ।
वडा नम्बर ६ मा महेन्द्र चाम्लिङ वडाध्यक्षको उम्मेद्वार बन्ने भएका छन् भने खुला सदस्यमा जीवन चौहान र टंक विक, महिला सदस्यमा सुनिता पौदारले उम्मेद्वारी दिने तय भएको छ ।
त्यस्तै वडा नम्बर ७ मा वडाध्यक्षको उम्मेद्वारका रूपमा सुरेश लावती, खुल्ला सदस्यमा दिपबहादुर भुजेल र अमृत पाराघरी लिम्बू, महिला सदस्यमा हिमाकुमारी राई र दलित महिला सदस्यमा कालिकादेवी सार्की उम्मेद्वार बन्दै छन् ।
वडा नम्बर ८ मा धिरेन सुब्बा लावती वडाध्यक्षको उम्मेद्वार बन्ने भएका छन् भने खुल्ला सदस्यहरुमा ज्ञानेन्द्र कुरुङ्भङ र महिला सदस्यमा पदम कुमारी राई लिम्बू उम्मेद्वार बन्ने पक्का भएको छ ।
त्यस्तै वडा नम्बर ९ मा वडाध्यक्षको उम्मेद्वार धिरेन्द्र सम्बाहाम्फे, खुला सदस्यहरुमा दुर्गा तामाङ र पदम लिम्बू, महिला सदस्यमा बुद्धमाया मादेन र दलित महिला सदस्यमा सरु विकको उम्मेद्वारी पर्ने पक्का भएको छ ।
वडा नम्बर १० को वडाध्यक्षमा खेमबहादुर दाहाल, खुल्ला सदस्यहरुमा तोर्ण भट्टराई र खगेन्द्र न्यौपाने, महिला सदस्यमा गीता गजुरेल र दलित महिला सदस्यमा रेणुका दर्जीको उम्मेद्वारी रहने बताइएको छ ।
पार्टीमा उम्मेद्वारहरुको आकांक्षालाई मध्यनजर गर्दै उम्मेद्वार सिफारिससहित सार्वजनिक गरिएको जसपा दमक नगर अध्यक्ष भेषराज भट्टराईले बताए ।

