दमक, १० बैशाख ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता उमेश यादवले पार्टी छाडेको घोषणा गरेका छन् ।
जसपा बिराटनगर महानगर समितिका सदस्य यादवले आसन्न स्थानीय तह निर्वाचनमा महानगरको प्रमुख पदमा दावी गर्दै आएका थिए । तर, केन्द्रीय गठबन्धनले महानगरपालिका बारे भागबण्डा लाउँदा बिराटनगरको प्रमुख नेपाली कांग्रेसको भागमा परेको थियो भने जसपाको भागमा उपप्रमुख परेको थियो ।
नेता यादवले गठबन्धनको नाममा पार्टीले आफूमाथि अन्याय गरेको भन्दै पार्टी त्यागेको बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनलेभने –‘बिराटनगरमा अनावश्यक गठबन्धन गर्ने निर्णय गलत भयो । मैले यही कारण पार्टी त्यागेर स्वतन्त्र बस्ने निर्णय गरेको हुँ।’
आफ्ना समर्थकसहित पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका यादवले स्वतन्त्र उम्मेद्वारका रूपमा महानगरको प्रमुख पदमा उम्मेदवारी दिने/नदिने बारे बारे भने खुलाएनन् ।
उनी २०७४ को स्थानीय तह निर्वाचनमा जसपाबाट बिराटनगर महानगरको प्रमुख पदका प्रत्यासी भइ तेस्रो बढी मत पाएका नेता हुन् । यादवले पार्टी छाडे पनि तत्काल कुनै दलमा नजाने आफ्ना निकटस्थहरुलाई बताएका छन् ।

