
माङसेबुङ, १२ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धनले माङ्सेबुङ गाउपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसको भागमा अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी(जसपा) नेपालको भागमा परेको छ ।
आज सोमबार सोही अनुसार अध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट डिकेन्द्र इधिङ्गो र उपाध्यक्षमा जनता समाजवादी पार्टी,नेपालबाट बिनोद नेम्बाङले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उम्मेदवारी दर्ता गराएका हुन् ।
स्थानीय तहको पहिलो निर्वाचनमा समेत नेपाली कांग्रेस र जसपाबीच चुनावि तालमेल भएको थियो । जसमा कांग्रेसबाट अध्यक्ष डिकेन्द्र इधिङगो र जसपाबाट विनोद नेम्बाङकै उम्मेदवारी रहेको थियो ।
इधिङगो कांग्रेस जसपा चुनावि तालमेल गरी माङसेबुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षका उम्मेदवार नेम्बाङ पराजित भएका थिए ।
गठबन्धन भित्र नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित ३ वटा वडा, जनता समाजवादी पार्टीलाई गाउँपालिका उपाध्यक्ष, माओवादीकेन्द्रलाई २ वटा वडा र राष्ट्रिय जनमुक्ति पार्टिलाई १ वटा वडा भागमा परेको छ ।

