छाता चुनाव चिह्नबाटै चुनाव लड्ने प्रमुखका प्रत्यासी विष्टको उद्घोष
१३ बैशाख, दमक ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दमकका प्रमुखसहित सदस्य पदमा मनोनयन गरेको छ । दमक नगर प्रमुखको प्रत्यासीमा पवन विष्टले उम्मेद्वारी दिएका छन् ।
पाँच दलीय गठबन्धनसँग अन्तिम समयसम्म सहकार्यको प्रयास गरिए पनि जसपालाई राजनीतिक ढङ्गले सम्बोधन नगरिएको भन्दै आफ्नै चुनाव चिह्न छातामा चुनाव लड्ने गरी मनोनयन दर्ता गरिएको जसपा प्रदेश नम्बर १ सदस्य सुशिल राईले जानकारी दिए ।
सोमबार दमक नगरपालिकास्थित निर्वाचन कार्यालयमा जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङसहित नेता कार्यकर्ता पार्टीको भण्डा र चुनाव चिह्न बोकेर उम्मेद्वारी दर्ता गराउन पुगेका थिए ।

जसपाबाट दमक नगर प्रमुखमा प्रदेश सदस्य पवन विष्टले उम्मेद्वारी दिएका हुन् । उप–प्रमुख र वडा अध्यक्ष पदमा भने अन्य सानादलहरुसँग तालमेल गरिने बताइएको छ ।
त्यस्तै दमक वडा नम्बर १ मा महिला सदस्यमा ओममाया आङ्देम्बे, वडा नम्बर २ मा खुला सदस्यमा युदबहादुर लावती (आकाश), वडा नम्बर ७ मा खुला सदस्यमा दिपबहादुर भुजेल र महिला सदस्यमा हिमाकुमारी राई, वडा नम्बर ८ मा महिला सदस्यमा पदमकुमारी राई र वडा नम्बर ९ मा खुला सदस्यमा दुर्गा तामाङले उम्मेद्वारी दिएको जसपा दमक नगर सचिव सुनिल राईले बताए ।
जसपाले पार्टीको आधिकारिक चुनाव चिह्न छाताबाट चुनाव लडेका आफ्ना उम्मेद्वारहरुको पक्षमा मत माग्ने र माहोल बनाउने काम सुरु गरेको बताइएको छ । साथै, गठबन्धन बाहिरका साना दलहरु लिम्बुवान, जनमुक्तिलगायतसँग पनि आवश्यक चुनावी तालमेलको तयारी भइरहेको नगर प्रमुख पदका प्रत्यासी विष्टले जानकारी दिए ।
उनले भने –‘हामीले पार्टीको आधिकारिक चुनाव चिह्न छाताको पनि अस्तित्व रहनेगरी र अन्य साना दलहरुसँगको सहकार्यका लागि पनि सहज हुनेगरी आवश्यक समन्वयमै सीमित पदहरुमा मात्रै उम्मेद्वारी दिएका हौं ।
यसअघि जसपाका केही नेताले भने नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लड्ने गरी मनोनयन गरेका बताइएको छ ।

