
दमक, १३ बैशाख। नेपाल पत्रकार महासंघका दुई जना केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुने भएपछि पदबाट राजिनामा दिएका छन् ।
स्थानीय तह निर्वाचनमा ओखलढुङ्गास्थित मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वार उठने भएपछि महासंघका केन्द्रीय सदस्य दिपेन्द्र रुम्दाली राईले पदबाट राजीनामा दिएका छन् ।
त्यस्तै ताप्लेजुङस्थित आठराई त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वार उठ्ने भएपछि महासंघका अर्की केन्द्रीय सदस्य शान्ता आङ्बुहाङले पदबाट राजीनामा दिएकी हुन् । दुवै केन्द्रीय सदस्यले सोमबार पदबाट राजीनामा घोषणा गरेका हुन् ।
उनीहरुले सोमबार नै सम्बन्धित पालिकास्थित निर्वाचन आयोगमा मनोनयन दर्ता गराइसकेका छन् । रुम्दाली तीन कार्यकाल महासंघको ओखलढुंगा अध्यक्ष भै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी जनता समाजवादी पार्टीका उम्मेद्वार हुन् ।आङ्बुहाङ एमालेबाट उम्मेद्वार छन् ।
दुवै नेताले प्रेस स्वतन्त्रताको मर्म र पत्रकार महासंघको गरिमालाई ध्यानमा राखेर केन्द्रीय नीतिअनुरूप नै दलीय उम्मेद्वार हुने भएपछि पदबाट राजीनामा दिएको बताएका छन् । महासंघले सदस्य पत्रकारहरुलाई स्थानीय निर्वाचनमा दलीय वा स्वतन्त्र उम्मेद्वार बन्ने भए पहिले राजिनामा दिन निर्देशन गरेको थियो ।

