३१ बैशाख, दमक ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई विजयी भएका छन् ।
वडा अध्यक्षका उम्मेद्वार राईले ८ सय ३७ मत पाएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार सुबदल सेलिङले २ सय २८ मत पाए ।
राई सहित माङसेबुङ ५ मा गठबन्धनबाट जनमुक्तिको प्यानल नै विजयी भएको हो । गत २०७४ को स्थानीय निर्वाचनमा पनि माङसेबुङ ५ मा जनमुक्तिले विजय पाएको थियो ।
दलित महिला सदस्यमा गठबन्धनकै गंगामाया विश्वकर्मा, खुला सदस्यहरुमा गठबन्धनकै वीरबहादुर कुरुम्बाङ र सुरेन्द्र तुम्बाहाम्फे विजयी भएका हुन् ।
महिला सदस्यमा तीलरुपा सबेहाङ निर्विरोध निर्वाचित भएकी हुन् ।
सो वडाबाट अध्यक्ष र उपाध्यक्ष पदमा समेत गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ७ सय ९२ मत पाएका छन् भने नेकपा एमालेका हेमन्त राईले १ सय ८३ मत प्राप्त गरेका छन् । एमएनओका प्रेमकुमार केरुङले १० मत पाएका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालका विनोद नेम्बाङले ७ सय २५ र एमालेकी सुनिता सुब्बाले २ सय १६ मत पाएकी छिन् ।
माङसेबुङ ५ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो ।
एमालेले भने वडामा कुनै पनि पदमा उम्मेद्वारी दिएको थिएन । स्वतन्त्र उम्मेद्वार भने चुनावी मैदानमा थिए ।
माङसेबुङ ५ मा १ हजार २ सय ३३ मत खसेको थियो ।