जजिराले थाल्यो व्यवसायिक उडान
२ जेठ, दमक ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार उद्घाटन गर्दैछन् ।
बिहानै विमानस्थल पुगेका प्रधानमन्त्री देउवाले विमानस्थलको अवलोकन समेत गरेका छन् ।
यसैबीच कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान अनुमपति पाएसँगै सोमबार नै पहिलो अवतरण गरेको छ ।
जजिराले बुद्ध जयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान प्रारम्भ गर्दैछ ।
नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
हालैमात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्नेछ ।
भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २ः३० बजे नियमित उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ अवतरण हुनेछ ।
त्यसैगरी, कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६ः३० बजे उडान हुनेछ भने भैरहवामा बिहान १ः४५ बजे अवतरण हुनेछ ।