२ जेठ, दमक ।

आज २५६६औं बुद्ध जयन्ती । वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती विविध धार्मिक अनुष्ठान तथा कार्यक्रम गरी संसारभर मनाइदैछ ।
भगवान बुद्ध (सिद्धार्थ गौतम)ले बुद्धत्व प्राप्त गरी विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाइन्छ ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६६ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
हिन्दु धार्मिक मान्यता अनुसार भगवान बुद्धलाई विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका भनी उनको पूजा आराधना प्रवचन गर्ने प्रचलन छ ।

