२ जेठ, दमक ।
आज किराती समुदायको उभौली चाड । प्रकृतिसँग खेतीपातीका लागि अनुकूल मौसमको कामना गरेर पूजाआजा गर्ने गरिन्छ ।
किराती समुदायभित्रका राई, लिम्बू, याक्खा, सुनुवार, थामीलगायत समुदायले आ–आफ्नो जातीय परम्परा अनुसार यो चाड मनाउने गर्दछन् । आज उभौलीमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । कतिपय स्थानमा उभौली चाडलाई बाली पूजाका रूपमा समेत मनाउने चलन छ ।
प्रकृतिपूजक किराती समुदायले आदिमकालदेखि नै अन्नबाली लगाउन अघि लगाएको बाली सप्रियोस्, रोगब्याधी नलागोस्, पर्याप्त वर्षा होस् र अनुकूल मौसमको कामनासहित प्रकृतिको पूजा गर्ने प्रचलन रहिआएको छ ।
किराती समूहका राई जातिले साकेला थानमा जम्मा भएर सिली नाच्ने र पूजाआजा गर्ने चलन छ । त्यस्तै लिम्बू र याक्खा जातिले च्याब्रुङ नाचेर उभौलीलाई स्वागत गर्दछन् भने सुनवारहरुको मौलिक नाचले पनि उभौलीमा थप रौनक थप्ने गर्दछ ।
बैशाखे पूर्णिमाका दिन मनाइने उभौली चाडसँगै कृषियुगको सुरुवात भएको मानिन्छ ।