adv

उत्तर कोरियामा कोभिड संक्रमण बढ्दो, खोप सहयोग नलिएको अमिरिकी भनाइ

८ जेठ, दमक । (एजेन्सीको सहयोगमा)


कोरोना भाइरस संक्रमणका कारण संकटमा परेको उत्तर कोरियाले अमेरिकाको खोप सहयोगको प्रस्तावलाई अस्वीकार गरेको छ ।

बिबिसीका अनुसार संक्रमण नियन्त्रणका लागि अमेरिकाले उत्तर कोरियालाई खोप प्रस्ताव पठाए पनि त्यस बारे कुनै जवाफ नदिइएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका हुन् ।

दक्षिण कोरियामा गरिएको पत्रकार सम्मेलनका क्रममा बाइडनले उत्तर कोरियासमक्ष खोप उपलब्ध गराउने प्रस्ताव गरेका थिए । उनले भनेका थिए –‘उत्तर कोरियालाई मात्रै होइन, हामीले चीनलाई पनि खोप दिने प्रस्ताव गरेका छौँ र हामी तत्काल त्यसो गर्न तयार छौँ ।’

खोप उपलब्ध गराउने अमेरिकी प्रस्ताव उपर उत्तरको कुनै जवाफ नआएको भन्दै बाइडेनले थप भनेका छन् –‘तर हामीले कुनै उत्तर प्राप्त गरेका छैनौँ ।’

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले बताए अनुसार हाल त्यहाँ झन्डै २५ लाख मानिस ‘ज्वरो’बाट ग्रस्त छन् । यतिबेला देशैभर कडा लकडाउन गरिएको छ ।

विदेशी सञ्चार माध्यमहरुले हालसालै उत्तर कोरियाली शासक किम जोङ उनको मास्क लगाएको तस्वीर सार्वजनिक गरेका छन् ।

कोरोना संक्रमण बढेसँगै उत्तर कोरियाका शासक किम जोङ उनले मास्क लगाएको तस्वीर सार्वजनिक भएको छ ।

कोभिड परीक्षण र खोपको आपूर्ति नहुँदा उत्तर कोरिया ठूलो जोखिममा रहेको बताइएको छ । त्यहाँ गत मे १२ मा पहिलो पटक कोभिड संक्रमण पुष्टि गरिएको हो ।

उत्तर कोरियाले यसअघि खोप उपलब्ध गराउने कोभ्याक्सको प्रस्ताव पनि अस्वीकार गरेको थियो ।

एप्रिल २०२० मा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र खोपबारे पैरवी गर्ने दुई अन्य समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो ।

उत्तर कोरियाले दक्षिण कोरिया र अन्य राष्ट्रले गरेको खोप सहयोग प्रस्ताव पनि अस्वीकार गरेको बताइएको छ ।

उत्तर कोरियाले देशका नाका बन्द गरेर सफल रूपमा कोभिड भित्रिन नदिएको दाबी गर्दै आएको थियो ।

सरकारी सञ्चारमाध्यमहरूले जडीबुटी चिया पिउन, नुनपानीले कुल्ला गर्न र पीडा कम गर्ने औषधि प्रयोग गर्न सल्लाह दिएका बताइएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनले भने औषधि वितरणमा अधिकारीहरूले गडबड गरेको आरोप लगाएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु