adv

७०७ पलिकाको नतिजा आयो, कांग्रेसको पोल्टामा ३१३ पालिका

८ जेठ, दमक ।


स्थानीय तह निर्वाचनअन्तर्गत ७०७ स्थानीय तहको नतिजा घोषणा हुँदा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई थप बढाएको छ ।

आइतबार बिहान ११:३० बजेसम्मको प्राप्त नतिजाअनुसार कांग्रेसले ३१३ पालिकामा जित निकालेको छ । परिणाम आउन बाँकी ४६ पालिकामध्ये जारी मत गणना अनुसार काँग्रेसले अझै पनि १४ पालिकामा अग्रता कायमै राखेको छ ।

नेकपा एमालेले स्थानीय तहका १९० पालिकामा बाजी मारेको छ भने मत गणना जारी रहेका मध्ये १४ पालिकामा एमालेको अग्रता छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ भने ३ पालिकामा उसको अग्रता कायम छ ।

जनता समाजवादी पार्टी (जसपा)ले २७ पालिकामा बाजी मारेको छ भने १ पालिकामा अग्रता कायम राखेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १७ पालिकामा जित दर्ज गरेको छ भने २ पालिकामा अग्रता कायम राखेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १२ स्थानीय तहमा जितेको छ ।

राप्रपा, जनमोर्चा, नेमकिपालगायत अन्य साना दल र स्वतन्त्र उम्मेद्वारले गरी २८ पालिका जितेका हुन् ।

अन्य साना दल र स्वतन्त्रतर्फका उम्मेद्वारले १२ पालिकामा अग्रता कायम राखेका छन् ।

महानगरतर्फ :

महानगरपालिकातर्फ जारी मत गणनामा भने काठमाडौंमा स्वातन्त्र उम्मेद्वार बालेन साहको अग्रता कायमै छ ।

पोखरामा गठबन्धनतर्फबाट नेकपा एसका धनराज आचार्य अगाडि छन् ।

त्यस्तै भरतपुरमा गठबन्धनतर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल अगाडि छिन् ।

ललितपुरमा गठबन्धनतर्फबाट कांग्रेसका चिरीबाबु महर्जनको अग्रता कायमै छ ।

विरगञ्जमा जसपाका राजेशमान सिंहको अग्रता कायमै छ भने बिराटनगरमा गठबन्धनतर्फबाट कांग्रैसका नागेश कोइराला विजयी भएका छन् ।

उपमहानगरतर्फ :

उपमहानगरपालिकातर्फ धनगढीमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल विजयी भएका छन् भने हेटौंडामा गठबन्धनतर्फबाट नेकपा एसकी मीनाकुमारी लामाले जितेकी छिन् ।

बुटवलमा गठबन्धनतर्फबाट कांग्रेसका खेलराज पाण्डेयले जिते भने नेपालगञ्जमा पनि गठबन्धनतर्फबाट कांग्रेसका प्रशान्त विष्ट विजयी भएका हुन् ।

धरानमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ जित नजिक पुगेका छन् भने इटहरीमा एमालेका हेमकर्ण पौडेलले विजय प्राप्त गरेका छन् ।

त्यस्तै घोराहीमा एमालेका नरुलाल चौधरीले जितेका छन् भने तुलसीपुरमा एमालेकै टिकाराम खड्का अगाडि छन् ।

जनकपुरधाममा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साह सुडीको अग्रता छ ।

कलैयामा एमालेका विनोदप्रसाद साहले बाजी मारेका छन् भने जितपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु