८ जेठ, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन दिन सरकारलाई सुझाव दिएको छ ।
महासंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन दिने नीति अख्तियार गर्न नेपाल सरकारलाई सुझाव दिएको हो ।
आइतबार आयोजित इन्धन तथा खाद्य समस्या र यसबाट पर्न सक्ने अर्थतन्त्रको प्रभाव विषयक छलफलमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले यस्तो बताएका हुन् ।
पेट्रोलियम पदार्थको घाटा कम गर्न मूल्य समायोजनमा जानु वा सरकारले नेपाल आयल निगमको मूल्य तिरिदिनुको विकल्प नभएको अध्यक्ष गोल्छाले बताए ।
उनले भने –‘अहिले कुल आयातको १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । यसको केही अंश प्रतिस्थापन गर्न सकिन्छ, नेपालमा ७ हजार मेगावाट विद्युत् उत्पादनको क्रममा छ, आयोजना निर्माणलाई तीव्रता दिंदै विद्युतीय सामानको प्रयोगलाई बढाऔं ।’
विदुतीय गाडीको जोड दिन, रिङ रोड बाहिर सफा टेम्पो र साना इलेक्टोनिक साधन सञ्चालनको वातावरण बनाउन र ठूला विद्युतीय बस सञ्चालनमा समेत प्रोत्साहन दिन महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।
सरकारले कृषि बजेटको आधा रकम कृषकको अनुदानमा विनियोजन गरे पनि कृषि वस्तुको आयात हरेक वर्ष बढिरहेको भन्दै कृषिमा प्रभावकारी कदम चाल्नसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

