७४४ पालिकाको नतिजा आयो : खुम्चियो एमाले
११ जेठ, दमक ।

स्थानीय तह निर्वाचनको मत गणना कार्य अन्तिम चरणमा पुगेको छ । ७४४ पालिकाको मत गणना कार्य सम्पन्न भई नतिजा आइसकेको छ । बाँकी ८ वटा पालिकाको मत गणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मत गणना स्थागित रहेका उदयपुरको त्रियुगा नगरपालिकामा हिजो मंगलबार मत गणना सुरु गर्ने भनी आयोगले निर्देशन दिएको थियो ।
त्रियुगा नपाको वडा नम्बर १२ मा मतदानका क्रममा विवाद भएपछि ३० बैशाख दिउँसो ४ बजे त्यहाँको मतदान स्थगित गरी अर्को मितिमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो ।
यसैबीच बुधबार मध्यान्ह १२ः३० बजेसम्मको प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले ३२४ पालिकामा जित निकाल्दै विशाल अग्रता कायम गरेको छ । २९७ पालिकामा उप–प्रमुख जितेको कांग्रेसले मत गणना अन्तिम चरणमा रहेका प्रमुखतर्फ ५ र उपप्रमुखतर्फ ४ स्थानमा अगुवाई गरिरहेको छ ।
अघिल्लो निर्वाचनको तुलनामा यस पटक खुम्चिएको एमालेले पालिका प्रमुखतर्फ २०३ स्थानमा बाजी मारेको छ भने उप–प्रमुखतर्फ तुलनात्मक राम्रो गर्दै २३५ स्थानमा जित दर्ज गरेको छ । अहिले पनि एमाले पालिका प्रमुखतर्फ २ र उप–प्रमुखतर्फ ४ स्थानमा अगाडि छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र १२१ पालिका प्रमुख र १२८ उप–प्रमुखमा बाजी मार्दै तेस्रो स्थानमा छ भने गणना बाँकी रहेका पालिकाहरुमा उसको अग्रता समाप्त भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) ३० पालिका प्रमुख र ३१ उपप्रमुखसहित चौंथो स्थानमा चित्त बुझाउन पुगेको छ । जसपाले अघिल्लो निर्वाचनमा जितेका मधेस प्रदेशका पालिकाहरु यस पटक गुमाउन पुगेको छ । पहाडी क्षेत्रमा अघिल्लो निर्वाचनमा भन्दा जसपाको स्थिति केही सुधार भएको देखिन्छ ।
एमालेबाट विभाजित दल नेकपा (एकीकृत समाजवादी) पहिलो पटक स्थानीय निर्वाचनमा भाग लिएर पनि पाँचौं दल बन्ने पक्का भएको छ । उसले २० पालिका प्रमुख र २३ उप–प्रमुखमा बाजी मार्दै आफ्नो अस्तित्व प्रस्तुत गरेको हो ।
जसपाबाट विभाजित भई बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ पालिका प्रमुख र १२ उपप्रमुखमा चित्त बुझाएको छ । उसले मधेस प्रदेशमा आफ्नो स्थिति खस्काएको छ । अघिल्लो निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)का रूपमा मधेसमा बलियो पकड भएको लोसपा केही समय जसपामा समाहित भई पुनः फुटेर लोसपा भएको थियो ।
यस निर्वाचनको मत परिणामले राष्ट्रिय जनमोर्चा, नेमकिपा र विवेकशील साझा जस्ता दललाई यथास्थितिमै रहेको देखाएको छ भने राप्रपालाई ओरालो धपाएको छ । राप्रपा फुटको असर देखिएको छ ।
जनमोर्चाले ४ पालिका प्रमुख र ३ उप–प्रमुखमा आफूलाई सीमित राख्यो भने राप्रपा (लिङ्देन) ४–४ पालिका प्रमुख र उप–प्रमुखमा खुम्चिए । राप्रपा नेपाल (कमल थापा समूह) भने कुनै पालिकामा जित्न सकेन ।
नेमकिपा र विवेकशील साझाले भने समान १–१ पालिका प्रमुख र उप–प्रमुखमा चित्त बुझाएका छन् ।
यस निर्वाचनबाट जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले आश लाग्दो उदय गरेको छ । उनको दलले ४ पालिका प्रमुख र ३ उप–प्रमुखमा बाजी मारेको हो ।
त्यस्तै सिके राउतको जनमत पार्टीले २ पालिका प्रमुख र १ उप–प्रमुखमा जित निकाल्दै मूलधारको राजनीतितर्फको सकारात्मक प्रवेश गरेको छ भने जनता प्रगतिशील पार्टीले १–१ पालिका प्रमुख र उप–प्रमुखसहित आफ्नो अस्तित्व प्रस्तुत गरेको छ । हृदय त्रिपाठीको तमलोपाले पनि १ पालिकामा जित निकाल्दै अस्तित्व रक्षा गर्न सफल भएको छ ।
विभिन्न दलबाट बागी उम्मेद्वारी दिएका र केही लोकप्रिय व्यक्तिहरुले पनि यस निर्वाचनबाट आफूलाई सफल परिक्षण गरेका छन् । स्वतन्त्रतर्फबाट यसरी उम्मेद्वार बनेकाहरु मध्ये १२ जनाले पालिका प्रमुखमा बाजी मार्न सफल भए भने ४ जनाले उप–प्रमुखमा जित दर्ज गरे ।
स्वतन्त्रतर्फबाट उम्मेद्वार बनेका बालेन साहले काठमाडौं महानगरपाकिलामा हेभीवेट उम्मेद्वारहरु एमालेका केशव स्थापित र सत्ता गठबन्धनतर्फ कांग्रेसकी सिर्जना श्रेष्ठलाई पाखा लगाउने लग्भग पक्कापक्की भएको छ ।
देशभरका अन्य ५ वटा महानगरको भने नतिजा आइसकेको छ । जसमा विरगञ्ज महानगरमा इतिहास दोहोर्याउँदै जसपाले जितेको छ भने विराटनगर र ललितपुरमा कांग्रेसले इतिहास दोहोर्याएको छ । पोखरामा नेकपा (एकीकृत समाजवादी)ले जित निकोलेको छ । त्यस्तै देशेभर चासो र चर्चामा रहेको भरतपुर महानगरमा माओवादी केन्द्रले जित दर्ज गर्दै इतिहास दोहोर्याएको हो ।
- युवा पुस्ताको इन्ट्री
स्थानीय तह निर्वाचन २०७९ को सकारात्मक पक्ष युवा पुस्तालाई राजकीय जिम्मेवारीमा पुर्याउनु रहेको छ ।
हालसम्म प्राप्त ९८ प्रतिशत भन्दा बढी पालिकाहरुको मतिणाम अनुसार २१ वर्षमाथि र ४० वर्ष मुनीका ४१ प्रतिशत युवाले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा विजयी भएका छन् ।
संविधानमा व्यवस्था भए अनुसार स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न २१ वर्ष उमेर पुगेको हुनुपर्दछ ।
त्यस्तै ४१ देखि माथि र ५० वर्षमुनिका ३२ प्रतिशतले यो निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएका छन् भने ५१ देखि माथि उमेर समूहका २७ प्रतिशत उम्मेद्वारले चुनाव जितेका छन् ।

