१६ जेठ, माङसेबुङ ।

हरप्रहर न्यूज डटकमका कार्यकारी सम्पादक सुसन राई माङसेबुङ गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट कार्यपालिका सदस्यको उम्मेद्वार बनेका उनी निर्विरोध निर्वाचित भएका हुन् । सोमबार राईले सपथ लिँदै पदभार समेत ग्रहण गरेका हुन् ।
हरप्रहर न्यूज डटकमका कार्यकारी सम्पादक राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का प्रदेश नम्बर १ महासचिव र जसपा निकट प्रेस मञ्च नेपालका प्रदेश सचिवका रूपमा क्रियाशील युवा हुन् ।
सोमबार नै बसेको गाउँ कार्यपालिकाको बैठकले राईलाई माङसेबुङ गाउँ कार्यपालिकाको आर्थिक विकास समिति संयोजकको जिम्मेवारी दिएको अध्यक्ष हेमन्त राईले जानकारी दिए । साथै उनले सामाजिक विकास समिति र विधेयक समिति सदस्यको समेत जिम्मेवारी पाएका छन् ।
पत्रकारितामा क्रियाशील रहेर सामाजिक सेवा गरिरहेकोमा अब स्थानीय सरकारको अंग भएर जनताको सेवा गर्ने अवसर प्राप्त भएको राईले प्रतिक्रिया दिएका छन् । हरप्रहरसँगको संक्षिप्त कुराकानीमा उनले भने –‘पार्टीको तर्फबाट जुन जिम्मेवारीका साथ कार्यपालिका सदस्य भएर आएको छु, इमानदारिताका साथ माङसेबुङवासी जनताको सेवा गर्नेछु ।’

